मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पशुपति प्रसाद २ : भष्मे डन’ ट्रेलरमा विपिन र सौगातको टकराव

फिल्मीखबर, काठमाडौं, 2023/10/09

२०७२ सालमा प्रदर्शित फिल्म ‘पशुपति प्रसाद’ पशुपति प्रसाद (खगेन्द्र लामिछाने) र भष्मे डन (विपिन कार्की) पात्रबीचको टसलमा केन्द्रित थियो । यसको चरित्र केन्द्रित सिक्वेलमा भने भष्मे डनलाई चुनौती दिने पात्रको रुपमा अभिनेता सौगात मल्ल भित्रिएका छन् । सोमबार सार्वजनिक ट्रेलरमा पनि दुई पात्रबीच पशुपतिनाथ क्षेत्रभित्र टकराव देख्न सकिन्छ । सौगात मधेशी चरित्रमा प्रस्तुत छन् ।

सात वर्षपछि सुनले सुख ल्याउला कि दुःख भन्ने प्रश्न गर्दै सार्वजनिक भएको ट्रेलरमा भष्मे डन पात्रले आफ्नो अस्तित्व र पहिचानका लागि गरेको संघर्षलाई चित्रण गरिएको छ । उसले आफ्नो आमा-बुबाको बारेमा खोजी गरिरहेको पनि ट्रेलरमा देख्न सकिन्छ । दुर्गा माताको गेटअपमा देखिएकी अभिनेत्री स्वस्तिमा खड्काको पात्र र भष्मे डनबीचको सामिप्यताले ट्रेलरमा थप रोचकता थपेको छ ।

 

Bipin, Saugat


ट्रेलर रिलिज कार्यक्रममा निर्देशक दीपेन्द्र के. खनालले ‘पशुपति प्रसाद’को बेग्लै खालको ‘लिगेसी’ रहेका कारण त्यसमा छेडखानी नगरेको दाबी गरेका छन् । उनी भन्छन्, ‘बजारलाई मात्र हेरेर ‘कमर्शलाइज’ गर्नेतिर हामी गएकै छैनौं । हामीले ‘पशुपति प्रसाद’को लिगेसी धान्ने फिल्म बनाएका छौं । ‘पशुपति प्रसाद’ भन्ने वितिक्कै दर्शकले कथा र इमोसन नै खोज्नुहुन्छ । त्यसमा हामी सचेत छौं ।’

खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको यस फिल्ममा विपिन, सौगात र स्वस्तिमाका साथै रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, संजोग रसाइलीलगायतको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको विशेष भूमिका रहेको फिल्मको एक गीतमा अभिनेत्री आँचल शर्माले नृत्य गरेकी छन् ।

आगामी कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शन हुन लागेको फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । लेखक लामिछानेले एउटा सार्थक सिक्वेल बनाउने प्रयास गरेको बताएका छन् । ‘पशुपति प्रसाद २’लाई कमाईमा ‘रेकर्ड ब्रेक’ गर्न सक्ने फिल्मको रुपमा हेरिएको छ । उनलाई भने हरेक हप्ता नयाँ फिल्मले रेकर्ड तोड्नुपर्छ भन्ने लाग्छ ।

उनी भन्छन्, ‘फिल्मले कमाईमा ‘रेकर्ड’ बनाउनुपर्छ भनेर चिन्ता लिएर म बस्दिनँ । यद्यपि, मेरो मान्यता के हो भने हरेक हप्ता नयाँ फिल्मले ‘रेकर्ड ब्रेक’ गर्नुपर्छ । त्यो भयो भने मात्र इन्डस्ट्री एकदमै राम्रो हुन्छ । यदि हाम्रो फिल्मले कुनै फिल्मको ‘रेकर्ड ब्रेक’ गर्‍यो भने त्यसलाई अर्को फिल्मले तोडिहाल्नु पर्छ । छाड्नै हुन्न । हरेक हप्ता ‘रेकर्ड ब्रेक’ भइरह्यो भने इन्डस्ट्री त्यसै बलियो बनिहाल्छ ।’