करिब ७ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’ले अभिनेता विपिन कार्कीलाई कलाकारितामै नयाँ जन्म दिएको थियो । फिल्ममा निर्वाह गरेको भष्मे डन पात्र उनको नयाँ पहिचान बन्यो । नेपाली फिल्ममा यो चरित्रलाई ‘आइकनिक’ मानिन्छ । खासमा भष्मे डन फिल्मको हिरो भने थिएन । नकारात्मक चरित्र थियो । तर, उसको गेटअप, हिँडाई, बोलाई पृथक हुँदा दर्शकले रुचाए ।
अब ‘पशुपति प्रसाद’को सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ दशैंको अवसर पारेर फूलपातीदेखि प्रदर्शनमा आउँदैछ । यो चरित्र केन्द्रित सिक्वेल हो । अर्थात् भष्मे डनको चरित्रमा केन्द्रित भएर फिल्म बनेको छ । सोमबार सार्वजनिक ट्रेलरमा भष्मे डनले आफ्नो अस्तित्व र पहिचानका लागि गरेको संघर्षसँगै उसको ‘इमोसन’ पाटो देखाइएको छ । अझ भनौं, यसपटक भष्मे डन सुध्रिएको छ ।
ट्रेलर रिलिज कार्यक्रममा निर्देशक दीपेन्द्र के. खनाललाई पत्रकारले प्रश्न गरे- ‘भष्मे डनलाई सुधारिएछ । दर्शकलाई विग्रिएकै भष्मे डन पो मन पर्थ्यो कि ?’ उनले हरेक मान्छेको दुईटा पाटो हुने र भष्मे डनको पनि दुईटा पाटो रहेकाले उसको ‘इमोसन’ पाटोलाई देखाउन खोजिएको प्रष्ट्याए । कसैको एउटा पाटो एकछिन देखिँदैमा उसलाई त्यही ठानेर मुल्यांकन गर्न नहुने उनको धारणा छ ।
उनी भन्छन्, ‘हरेक मान्छेको दुईटा पाटो रहन्छ । कसैले देख्छन् त कसैले देख्दैनन् । भष्मे डनको पनि दुईटा क्यारेक्टर हो । अनि भष्मे खुडा लिएर हिँड्ने डन पनि हैन । ऊ स-सानो कुरामा रमाई हिँड्ने डन हो । ‘पशुपति प्रसाद’को अन्त्यमा उसको हृदय कस्तो छ भन्ने देखाएका थियौं । यसैले मान्छे जस्तो पनि हुनसक्छ । एउटा पाटो एकछिन देखिँदैमा ऊ त्यही हो भनेर मुल्यांकन गर्नु हुन्न ।’
फिल्मको कथा भष्मे डनमै केन्द्रित रहेकाले उसको जीवनसँग जोडिएका धेरै कुरा आउने खनालले प्रष्ट पारे । ‘कथा नै भष्मे डनको हो । त्यसले गर्दा उनको जीवनसँग जोडिएका धेरै कुरा आइहाल्छ । हरेक मान्छेमा ‘इमोसन’ हुन्छ । किनभने मान्छे जति डरलाग्दो हुन्छ, त्योभन्दा धेरै उसको ‘इमोसन’ हुन्छ । कथा भष्मे डनकै वरिपरि घुमेकाले उसको ‘इमोसन’को पाटो आइहाल्छ,’ उनले भने ।