अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको उद्देश्य र भावनाविपरित गएर अध्यक्ष भुवन केसीले काम गरिरहेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल चलचित्र निर्माता संघको वार्षिक साधारणसभा एवं पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले फिल्मकर्मीहरुको भावनाविपरित जान थालेको अवस्थामा बोर्डको कुर्सीबाट विस्थापित गर्न सक्ने समेत चेतावनी दिए ।
उनले भने, ‘फिल्मकर्मीहरुको भावनाबाहिर गएर यसबाट डगमगाए तपाईं (भुवन केसी) बसेको कुर्सी पनि अस्थायी हो । होइन भने तपाईंलाई स्थापित गरेको कुर्सीबाट फिल्मकर्मीले विस्थापित पनि गरिदिन्छन् ।’ उनले प्रस्तावित फिल्मसम्बन्धी विधेयक मस्यौदाप्रति पनि आपत्ति जनाए । यो विधेयकले बोर्डको अधिकार खोस्ने काम गर्ने र फिल्म क्षेत्रलाई थप धरासायी बनाउने शाहको जिकिर छ ।
‘हामीले प्रशासकीय चालबाजी र षड्यन्त्रभित्र फिल्म उद्योगलाई सुरक्षित देखेका छैनौं । यो विधेयकले बोर्डमा मन्त्रालयको हस्तक्षेप बढाउँछ । त्यसैले विधेयकलाई फिल्मसँग सम्बन्धित सबै संघसंस्थाले डस्टबिनमा फ्याँकिदिएका छन्,’ उनले भने । फिल्मकर्मीको भावनाअनुसार विधेयक नल्याए र बोर्डको कार्यशैलीमा परिवर्तन नआए सडक आन्दोलन गर्न बाध्य हुने समेत उनले चेतावनी दिए ।
भुवन केसीले भने बोर्डलाई स्वायत्त बनाउनकै लागि आफू बोर्डमा आएको दाबी गरेका छन् । ‘बोर्ड स्वायत्त बनाउन नै म आएको हुँ । विगत ४० वर्षअघिदेखिको ऐन अहिलेसम्म किन पास भएको छैन ? म जागिर खानलाई आएको हैन । यदि कोही व्यक्ति भोलिको दिनमा आएर भुवन केसी यहाँबाट गएपछि एक महिनाभित्रमा ऐन पास गर्छु भनोस्, म अहिले जागिर छोड्न तयार छु,’ उनले भने ।
निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्म क्षेत्रको विकास र विस्तारमा मन्त्रालय र बोर्ड नै गम्भीर नभएको टिप्पणी गरे । उनले भने, ‘नेपालभित्रै कति कुरा व्यवस्थित गर्न सकिएको छैन, विदेशी बजारको कुरै भएन । फिल्म क्षेत्रलाई उद्योगसरह मान्यता दिएको सरकार नै कार्यान्वयनमा बेखबर छ ।’ नवलले बोर्डलाई स्वायत्तता बिना फिल्मसम्बन्धी विधेयक स्वीकार्य नहुने पनि बताएका छन् ।