गायनमा राम्रो ‘नेम र फ्रेम’ बनाएका कयैन् चर्चित अनुहार नेपाली फिल्मको हिरो बनिसकेका छन् । अब यो भीडमा गायक प्रकाश सपूत थपिएका छन् । असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’बाट उनले अभिनेताको रुपमा डेब्यू गरेका छन् । अभिनयमा अगाडि बढ्नका लागि उनलाई यो फिल्मको व्यावसायिक सफलता र अभिनयको प्रशंसा दुवै अनिवार्य रहनेछ ।
‘गलबन्दी’, ‘बोल माया’, ‘पीर’, ‘सकम्बरी’ जस्ता गीतबाट ‘स्टार गायक’ कहलिएका उनलाई ‘परदेशी २’ प्रदर्शन नहुँदै धेरै फिल्मबाट प्रस्ताव आइसकेका छन् । केही फिल्म निर्माण भएर प्रदर्शन समेत भैसकेका छन् । उनी भने ४ वर्षदेखि ‘परदेशी २’को नाम मात्र जपेर बसेका छन् । यो फिल्मसँग आफ्नो बेग्लै ‘अट्याच्मेन्ट’ रहेकाले अरु फिल्मको प्रस्ताव स्वीकार गर्न नसकेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘संगीत करिअरमा मैले दर्शक/स्रोताबाट एकखालको माया पाएको छु । र, अभिनयमा पनि रुचि भएकाले गएको ४/५ वर्षमा मलाई केही फिल्म अफर आएका थिए । केही फिल्म बनेर प्रदर्शनमा पनि भैसके । कति चले, कति फ्लप भए । तर, मलाई ‘परदेशी २’ नै मेरो पहिलो फिल्म बनोस् भन्ने थियो । यसैले यही फिल्म पर्खेर बसिरहेको थिएँ । योसँग मेरो बेग्लै ‘अट्याच्मेन्ट’ छ ।’
गायकबाट हिरो बनेका प्रायःले अभिनयलाई निरन्तरता दिन सकिरहेका छैनन् । अझ भनौं, सफल हुन सकेका छैनन् । प्रकाश पनि अभिनयलाई निरन्तरता दिनेबारे दोधार देखिए । उनले भने, ‘मैले फिल्ममा निरन्तरता दिनेबारे चाहिँ सोचेको छैन । ‘परदेशी २’ मेरो पहिलो फिल्म हो, अहिले यसैमा ‘इन्जोय’ गरौं भन्ने हिसाबले सोचिरहेको छु ।’ गायन र अभिनय दुवै फरक हुने उनको अनुभव छ ।
फिल्मको कथा आफ्नै वरिपरि घुमेकाले व्यावसायिक दबाबको महसुस भने उनले गरेका छन् । तर, आफ्नो पहिलो फिल्म भएकाले छुट पनि छ भन्ने उनलाई लाग्छ । ‘फिल्मको मुख्य पात्र भएकाले व्यावसायिक दबाब हुँदो रहेछ । किनकि, फिल्मको कथा नै मेरो वरिपरि घुमेको छ । तर, मलाई के छुट छ भने यो मेरो पहिलो फिल्म हो । यद्यपि, जिम्मेवारी महसुस चाहिँ गरेको छु,’ उनले भने ।