अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अहिलेका सर्वाधिक सफल जोडी हुन् । उनीहरुको सहकार्यले हिटमा ह्याट्रिक पनि गरिसकेको छ । ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनीहरुको जोडी बाँधिएको हिट फिल्म हुन् । यो जोडीको एकपछि अर्को फिल्म सफल हुन थालेपछि मेकरहरु समेत लोभिन थालेका छन् । र, उनीहरुलाई नै लिएर धमाधम फिल्मको घोषणा हुने क्रम जारी छ ।
यतिखेर दयाहाङ र मिरुनाले फिल्म ‘रङ्गेली’को छायांकन गरिरहेका छन् । माघमा फिल्म ‘घरज्वाइँ’मा एकसाथ काम गर्ने तयारीमा छन् । अब उनीहरुलाई लिएर अर्को फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ । ‘ग्याङस्टर ब्लुज’ फेम्ड निर्माता सरोज न्यौपानेको निर्माण रहने फिल्ममा उनीहरुले मुख्य भूमिकामा अभिनय गर्न लागेका हुन् । आगामी कात्तिकमा फिल्मको छायांकन सुरु हुनेछ ।
बलिउडका केही फिल्महरुमा काम गरिसकेका विश्वास तिमल्सिना र राज ऋषिले संयुक्त रुपमा फिल्म निर्देशन गर्नेछन् । फिल्मको छायांकन सुरु नहुँदै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरिसकेको छ । शिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गते फिल्म प्रदर्शन हुनेछ । रोचक कुरा के छ भने यही मितिमा दयाहाङ र मिरुना स्टारर ‘रङ्गेली’ पनि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
तीन करोड बजेट अनुमान गरिएको फिल्मको छायांकन काठमाडौं, काभ्रेपलाञ्चोक र झापामा हुने जानकारी प्राप्त छ । शीर्षकले नै फिल्म सामाजिक विषयमा बन्न लागेको संकेत गर्छ । निर्माता न्यौपाने यस वर्ष अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘जेरी अन टप’ निर्माणको तयारीमा समेत छन् । उनले आगामी वर्ष दीपकराज गिरी समुहसँग मिलेर एउटा कमेडी फिल्म पनि बनाउँदैछन् ।