मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’प्रति प्रदर्शकको आश, शोज संख्या बलियो

फिल्मीखबर, काठमाडौं, 2023/10/11

pardeshi 2

 

करिब ८ वर्षअघि प्रदर्शन भएको फिल्म ‘परदेशी’ घरेलू बक्स अफिसमा सुपरहिट सावित भएको थियो । आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत गरेको फिल्मले प्रदर्शनको ५१औं दिने दुर्लभ रेकर्ड समेत मनाएको थियो । अब यसको दोस्रो श्रृंखला यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मको ‘हाइप’ हेर्दा सफलताको सम्भावना बलियो छ ।

यो फिल्मप्रति हल व्यवसायीहरुले पनि ठूलो आश राखेको देखिएको छ । मल्टीप्लेक्सहरुले उपलब्ध गराएको शोज संख्याले यसको संकेत गर्छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरका स्टेशनमा गरी फिल्मलाई पहिलो दिन ३६ शोज उपलब्ध गराएको छ । यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले आफ्नो तीनटा स्टेशनमा कूल १२ शोज दिएको छ ।

‘परदेशी २’लाई रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले समान ४/४ शो दिँदा क्यूज सिनेमाजले २ शो बाँडेको छ । काठमाडौंका अरु मल्टीप्लेक्सहरुमा बुकिङ खुल्ने चरणमा छ । सुपरहिट फिल्मको श्रृंखला, चुस्त प्रचार र बलियो स्टारकास्टका कारण फिल्मले मल्टीप्लेक्सहरुमा सुखद् शोज पाउन सफल भएको हो । बुकिङ राम्रो भएको अवस्थामा शोजमा थप वृद्धि हुनेछ ।

नारायण रायमाझीद्वारा निर्देशित फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । गायनमा स्थापित सपूतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । राजेश वंशल र निर्देशक रायमाझीको निर्माण रहेको फिल्ममा रमेश बिजीको कथा र पटकथा लेखन छ ।