कुनै बेला देओल परिवारले बलिउडमा राज गरेको थियो । ७० को दशकमा धर्मेन्द्र बलिउडका ठूलो ‘स्टार’ थिए । त्यसपछि उनका दुई छोरा सनी देओल र बबी देओलले पनि लोभलाग्दो सफलता चुमे । अहिले पनि उनीहरुको बलिउडमा रजगज छ । सनीको त नयाँ फिल्म ‘गदर २’ले बक्स अफिसमा रेकर्ड नै बनायो । तर, देओल परिवारको तेस्रो पुस्तालाई बलिउड फापेको देखिएको छैन ।
सनीका जेठा छोरा करणले २०१९ मा फिल्म ‘पल पल दिल के पास’बाट बलिउडमा डेब्यू गरेका थिए । तर, फिल्म बक्स अफिसमा पत्तासाफ हुन पुग्यो । यसपछि न उनले नयाँ फिल्ममा काम गर्ने आँट गरेका छन् न कुनै फिल्मबाट अफर आएको छ । यसैक्रममा, सनीका कान्छा छोरा राजवीरले यही शुक्रबारदेखि प्रदर्शनमा आएको राजश्री प्रोडक्सनको फिल्म ‘दोनो’बाट बलिउडमा डेब्यू गरे ।
राजवीरको पहिलो फिल्म पनि बक्स अफिसमा डुबेको छ । फिल्मले प्रदर्शनको ५ दिनमा जम्मा १ करोडको आँकडा मात्र नघाएको छ । जबकि, फिल्मको लागत २० करोडमाथि रहेको छ । फिल्मले ३५ लाखको ओपनिङ गरेको थियो । फिल्मलाई यो वर्षको ठूलो ‘डिजास्टर’ भनिएको छ । समीक्षकले राजवीरको अभिनय पनि रुचाएका छैनन् । तर, उनको लुक्सको भने राम्रो चर्चा भैरहेको छ ।