मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘भष्मे डन’ : दुर्गा माता बनेकी स्वस्तिमाको हातमा डमरु किन ?

फिल्मीखबर, काठमाडौं, 2023/10/11

धर्मग्रन्थ वा त्यसका पात्रमाथि फिल्म बनाउनु चुनौतीपूर्ण मानिन्छ । सानो गल्ती मात्र भयो भने त्यसले ठूलो द्वन्द्व मच्चाउने सम्भावना रहन्छ । यही डरले पनि नेपालमा धार्मिक फिल्म बन्दैनन् । तर, धर्मग्रन्थबाट नाम लिएर बनेका फिल्महरु विवादमा तानिएका घटना धेरै छन् । तात्तातो उदाहरण ‘भागवत् गीता’ हो । धर्मग्रन्थबाट नाम लिएको भन्दै विवाद चर्किएपछि शीर्षकै हेरफेर गरिएको थियो ।

कात्तिक ४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ धार्मिक फिल्म त होइन तर अभिनेत्री स्वस्तिमा खड्काले निभाएको चरित्र धर्मसँग जोडिएको छ । फिल्ममा उनी दुर्गा माता बनेकी छन् । अर्थात् दुर्गा माताको गेटअपमा छिन् । दुर्गा माताप्रति हिन्दूहरुको अगाध आस्था र विश्वास छ । यसैले फिल्ममा दुर्गा माताको क्यारेक्टर संवेदनशील मानिएको छ ।

पशुपति क्षेत्रमा रोजीरोटीका लागि दुर्गा माता बनेर हिँड्ने युवतीको भूमिकामा स्वस्तिमा छिन् । उनको अनुहारमा पहेँलो र रातो रंग पनि लगाइएको छ । जबकि, दुर्गा माताको नौंवटा रुपमा कुनैमा अनुहारमा दुईथरी रंग देखिन्न । र, फिल्मको ट्रेलरमा ध्यान दिने हो भने दुर्गा माता बनेकी स्वस्तिाको ६ वटा हात छ । त्यसमध्ये एउटामा उनले डमरु बोकेकी छन् भने त्रिशुलमा पनि डमरु देखिन्छ ।

बजारमा पाइने र इन्टरनेटमा भेटिने तस्विरमा दुर्गा माताले डमरु बोकेको देखिँदैन । न त्रिशुलमै डमरु छ । आखिर फिल्ममा डमरु बोकेकी दुर्गा माता किन देखाइयो ? फिल्मका निर्देशक दीपेन्द्र के. खनाललाई नै दुर्गा माता बनेकी स्वस्तिमाले एउटा हातमा डमरु पनि बोकेकी छन् भन्नेबारे थाहा रहेनछ । सोमबार ट्रेलर सार्वजनिक कार्यक्रममा उनले त्रिशुलमा मात्र डमरु रहेको बताएका थिए ।

 

 Swastima Khadka


खनालले भनेका थिए, ‘ठ्याक्कै डमरु त छैन । त्रिशुलमै ‘अट्याच’ छ । छुट्टै डमरु बोकेको छैन ।’ तर, ट्रेलरको १८ सेकेण्डमा दुर्गा माताको गेटअपमा रहेकी स्वस्तिमाले कृतिम हातमा डमरु बोकेको स्पष्ट देखिएको छ । फिल्मकै निर्देशकलाई यो कुरा थाहा नहुनु दुर्भाग्यपूर्ण हो । अब प्रश्न यो उठ्छ कि दुर्गा माताको कुन तस्विरलाई हेरेर स्वस्तिमाले निभाएको क्यारेक्टरलाई डमरु बोकाइयो ?

त्रिशुलमा डमरु जोडिएको विषयमा भने निर्देशक खनालले प्रष्ट पार्दै भनेका थिए, ‘त्रिशुल पनि दुई प्रकारको हुने रहेछ । सङ्घार गर्ने खालको त्रिशुलमा डमरु नहुने रैछ । धार्मिक रुपले बोकेर हिँड्ने त्रिशुलमा डमरु जोडिएको हुने रैछ ।’ उनी फिल्ममा दुर्गा माताको क्यारेक्टर एकदमै संवेदनशील रहेको स्वीकार गर्छन् । तर, धार्मिक आस्थामा चोट पुग्ने गरी केही काम नगरेको उनको भनाई छ ।

‘दुर्गा माता फिल्मको संवेदनशील क्यारेक्टर हो । तर, हामीले यसको धार्मिक पक्षलाई एकदमै ध्यान दिएका छौं । हामी आफैं हिन्दू भएकाले धार्मिक आस्थामा आघात पुग्ने कुनै काम गरेका छैनौं । यो मात्र एउटा क्यारेक्टरको रुपमा आएको छ । स्वस्तिमाले पनि त्यसलाई निभाउने बेला अध्ययन गरेकी छन्,’ उनले भने । उनलाई मात्र होइन, स्वस्तिमालाई समेत डमरु बोकेको हेक्का रहेनछ ।

उनले त्रिशुलमा मात्र डमरु छ भनेर प्रष्टीकरण दिएकी थिइन् । यद्यपि, उनले डमरु बोक्नुको कारणबारे भनिन्, ‘दुर्गा माताको पनि फरक-फरक रुप हुने रैछ । यो क्यारेक्टर बनाउँदा ‘सिनेम्याट्रिक’ कुन देख्छ र ‘मेटाफोरिकली’ कस्तो देखिन्छ भनेर ‘स्टडी’ गरेका थियौं । त्यो हिसाबले डमरु बोकेको दुर्गा छानेका हौं ।’ उनले फिल्ममा आफू दुर्गा माता नभइ दुर्गा माता बनेको पनि स्पष्ट पारिन् ।

‘फिल्ममा मैले निभाएको क्यारेक्टर दुर्गा माता होइन, बनेको हो । दुर्गा माता बनेर बस्ने क्यारेक्टर हो । ऊ आफैंमा दुर्गा माता चाहिँ होइन । पशुपतिमा बस्ने एउटा साधारण युवती दुर्गा माता बनेको हो,’ खड्काले आफ्नो अनुहारमा दुईथरी रंग लगाइनुको कारणबारे पनि प्रष्ट पार्दै भनिन्, ‘मैले निर्वाह गरेको पात्रको अनुहारमा दुईथरी रंग छ । यसले उसको जीवनको दुईवटा पक्षलाई चित्रण गर्छ ।’