२०७२ सालमा प्रदर्शनमा आएको ‘पशुपति प्रसाद’ नेपाली फिल्मकै लागि एउटा ‘माइलस्टोन’ मानिन्छ । दृश्यभाषादेखि कलाकारको अभिनयसम्म, हरेक हिसाबमा फिल्म उत्कृष्ट ठहरिएको थियो । यो फिल्मले एउटा ‘आइकनिक’ क्यारेक्टर समेत जन्मायो, ‘भष्मे डन’ । जबकि, फिल्ममा यो पात्र सहायक मात्र थियो । र, चरित्रको हिसाबले नकारात्मक । तर, दर्शकलाई यही पात्र ‘प्रिय’ बन्यो ।
सात वर्षपछि त्यही भष्मे डन पात्रमा केन्द्रित भएर सिक्वेल बनेको छ, ‘पशुपति प्रसाद २ : भष्मे डन’ । कात्तिक ४ गते फूलपातीबाट प्रदर्शन हुन लागेको फिल्ममा अभिनेता विपिन कार्की नै भष्मेको भूमिकामा छन् । अघिल्लो श्रृंखलामा उसलाई चुनौती दिने पात्रको रुपमा पशुपति प्रसाद (खगेन्द्र लामिछाने) थियो । सिक्वेलमा भने अभिनेता सौगात मल्ललाई भित्राइएको छ, जुन मधेशी चरित्र हो ।
फिल्मको ट्रेलरमा सौगातलाई दिइएको महत्त्व हेर्दा भष्मे डनजस्तै यसपटक सौगातको चरित्रलाई स्थापित गर्न खोजिएको देखिन्छ । कतै यो ‘पशुपति प्रसाद’को तेस्रो सिक्वेल बनाउने संकेत त होइन ? सोमबार ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारले सोधेको प्रश्नमा निर्देशक दीपेन्द्र के. खनालले यो फिल्म सफल भएर दर्शकहरुले माग गरेको अवस्थामा तेस्रो सिक्वेल पनि निर्माण हुनसक्ने बताए ।
उनले भने, ‘हामीलाई ‘पार्ट टू’ बनाउन त ७ वर्ष लाग्यो । तेस्रो सिक्वेलको बारेमा त के भन्न सकिन्छ र ? तर, के हो भने भष्मे डनको एरियामा निहुँ खोज्ने कोही त आउनुपर्ला नि । नत्र फुटबल खेलमा दुईटा टिम पनि नभए कसरी खेल्ने ? त्यही भएर सौगात मल्लको क्यारेक्टर आएको हो । दोस्रो श्रृंखलालाई दर्शकले अत्याधिक माया गरेर तेस्रो सिक्वेलको माग गर्नुभयो भने त्यो पनि आउनसक्छ ।’