कोरोना महामारीभन्दा अघि नेपाली निर्मातालाई आम्दानीका लागि हल, युट्युब र विदेश प्रदर्शनको मात्र भर थियो । सीमित मात्रामा ओटीटी प्लेटफर्म भए पनि यसतर्फ दर्शकको उत्तिधेरै आकर्षण थिएन । मेकरहरुले पनि यसलाई गम्भीर रुपमा लिएका थिएनन् । तर, कोभिडमा ओटीटीप्रति विश्वमै क्रेज बढ्यो । र, ‘आइसियू’मा रहेको नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ पनि चम्कियो ।
यतिबेला नेपालको ‘नम्बर वान’ ओटीटीको रुपमा स्थापित यो एपमा सुपरहिट फिल्मको लर्को लाग्न थालेको छ । ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’पछि अब एपमा यो वर्षको ब्लकबस्टर फिल्म ‘जारी’ पनि रिलिज हुने भएको छ । दशैंको अवसर पारेर घटस्थापनाको दिन अर्थात् असोज २८ गते ‘सिनेमाघर एप’मा फिल्म रिलिज हुन लागेको हो । हलमा हेर्न छुटेका दर्शकलाई यो राम्रो मौका हुनेछ ।
एपका सीइओ सागर खरेलले दर्शकलाई दशैंको उपहारस्वरुप फिल्म रिलिज गर्न लागेको जानकारी दिए । यो फिल्मले हलमा जस्तै एपमा पनि उल्लेख्य दर्शक पाउनेमा उनी विश्वस्त छन् । गत भदौमा रिलिज भएको ‘महापुरुष’ले राम्रो दर्शक पाइरहेको अवस्थामा एपले ‘जारी’ रिलिज गर्न लागेको हो । सीइओ खरेलले सिनेमाघर एपमा दर्शकहरुले यो फिल्मको सर्वाधिक डिमाण्ड गरेको बताए ।
हलमा १७ करोडमाथिको कलेक्सन गरेको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । लिम्बु समुदायमा प्रचलित जारी प्रथालाई मियो बनाएर प्रेमकथा वाचन गरिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङलगायतको अभिनय छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।