गायनमा ठूलो ‘नेम-फ्रेम’ कमाएका प्रकाश सपूत हिरो बनेको पहिलो फिल्म ‘परदेशी २’ प्रदर्शनको मैदानमा उत्रिएको छ । दशैंको अवसर पारेर शुक्रबारबाट प्रदर्शन थालेको यो फिल्मप्रति ठूलो अपेक्षा राखिएको छ । किनकि, ७ वर्षअघि यसको पहिलो श्रृंखला सुपरहिट भएको थियो । नारायण रायमाझीको निर्देशन रहेको फिल्मले युवापुस्तामा बढ्दो विदेश मोहको कथालाई पेश गरेको छ ।
सुपरहिट फिल्मको सिरिज, नाम चलेका कलाकार, चुस्त प्रचार, गीत-संगीतको चर्चा आदि कारणले मल्टीप्लेक्सहरुमा सुखद् शोज प्राप्त गरेको फिल्मलाई हिटको यात्रा तय गर्न सशक्त ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । यो फिल्म गायक सपूतका लागि भने अग्नि परीक्षा हो । गायनमा पाएको सफलता उनले फिल्मबाट पनि बचाउनुपर्नेछ । साथै, अभिनयको प्रशंसा पनि अनिवार्य छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाशका साथै नीर शाह, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु आदिको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा चर्चित गीतकार तथा संगीतकार रमेश विजीको कथा तथा पटकथा लेखन छ ।
‘परदेशी २’सँगै दुई नेपाली फिल्म ‘कौसीद’ र ‘बासेन्जी’ पनि एकसाथ प्रदर्शनमा आएका छन् । तर, दुवै गुमनाम रिलिज भएका हुन् । अर्थात् सामान्य प्रचार समेत गरिएको छैन । इयन स्कट क्लेमेन्ट निर्देशित ‘बासेन्जी’मा असिम निरौला, सुप्रिम राई, मिथिला शर्मा, सरिता गिरी आदिको अभिनय छ भने कुमार भाष्कर निर्देशित ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका छ ।