कोरोना महामारीयता सुविधा सम्पन्न मल्टीप्लेक्स हल खुल्ने क्रम बढेको छ । काठमाडौंमा मात्र यो सीमित छैन । मोफसलका ठूला शहरहरुमा पनि अत्याधुनिक प्रविधि भित्राएर नयाँ हलहरु खुलिरहेका छन् । जसले गर्दा सिंगल थिएटर विस्थापित हुने क्रममा छन् । मल्टीप्लेक्स हलको संख्या बढ्दा निर्मातालाई नै फाइदा हुन्छ । टिकट दर महंगो हुने भएकाले निर्मातालाई राम्रै शेयर हात पर्छ ।
यस्तैमा, नेपाली फिल्मको ठूलो बजार मानिने लुम्बिनी प्रदेशको राजधानी दाङमा २० करोड खर्चिएर ‘भीएफएक्स सिनेमाज्’ नामक नयाँ मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । शुक्रबारबाट प्रदर्शन थालनी गरेको फिल्म ‘परदेशी २’ देखाउँदै सञ्चालनमा आएको हलमा दुईवटा अडिटोरियम छ, जसमा कूल सीट क्षमता ४१२ छ । हलको सञ्चालकमा विजय रावत र चेतन जंग राना रहेका छन् ।
हलको निर्माण कार्य ३ वर्ष अगाडि सुरु भएको थियो । कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माणमा ढिलाई भएको हलमा थ्रीडीसहित सबै फिल्म चलाइने सञ्चालक रावतले बताए । उनले विदेशीभन्दा नेपाली फिल्मलाई प्राथमिकता दिने प्रतिवद्धता पनि जनाएका छन् । यसलाई चेनको रुपमा विस्तार गर्ने योजना बनाइएको हलको नयाँ शाखा काठमाडौंमा खोल्ने तयारी गरिएको छ ।
दाङमा यसअघि गणेश हल, मनकाँशी हल र स्वर्गद्वारी हल गरि तीन हल सञ्चालनमा छन् । कोरोना महामारीभन्दा अगाडि दाङमा ९ वटा हल थिए । अहिले ६ वटा (निमा, विष्णु र ओम शान्ति, सत्यसाई, भोले, महालक्ष्मी) हल सञ्चालनमा छैनन् । दाङबाटै कुनै समयमा नेपाली फिल्मले लाखौं रुपैयाँ कमाउने गरेका थिए । ‘भीएफएक्स सिनेमाज्’ भने यो जिल्लाकै पहिलो मल्टीप्लेक्स हल हो ।