मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ हेरेपछि हरिवंशले भने- ‘आँखा रोयो’

फिल्मीखबर, काठमाडौं, 2023/10/13

नेपाली समाजको वास्तविक कथालाई भन्न रुचाउने निर्देशक नारायण रायमाझीको तेस्रो निर्देशकीय फिल्म ‘परदेशी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । बढ्दो युवा पलायन र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित रहेको फिल्मको शुक्रबार बिहान काठमाडौं नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा विशेष शोज राखिएको थियो, जहाँ केही चर्चित सेलिब्रेटीहरु सहभागी थिए ।

 

pardeshi 2


अभिनेता हरिवंश आचार्यले फिल्मले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्मले मन, मुटु, दिमाग सबै छोयो । मेरो आँखा रोयो । लोक संस्कृतिले लप्पकै लिपेको छ फिल्म । यस्तो फ्लेवरको फिल्म आजकल बन्न कम भएको छ । प्राविधिक पक्षमा पनि फिल्म सबल छ ।’ उनले यही फिल्मबाट डेब्यू गरेका गायक प्रकाश सपूतको अभिनयको प्रशंसामा पनि शब्द खर्चिए ।

 

haribansha acharya


‘गीतसंगीतमा राम्रो क्रेज बनाउनुभएको प्रकाश सपूतले एकदमै राम्रो अभिनय गर्नुभएको छ । केकी अधिकारी र वर्षा सिवाकोटीले पनि राम्रो काम गर्नुभएको छ । लोक संस्कृति मन पराउने दर्शकलाई फिल्म मन पर्नेछ,’ उनले भने । यस्तै, कलाकार दीपकराज गिरीले परदेशिनेहरुको संवेदनालाई फिल्ममा देखाइएको बताउँदै निर्देशक रायमाझीको प्रस्तुतीकरण शैलीको खुलेर प्रशंसा गरे ।

 

deepakraj giri


उनले भने, ‘नारायण दाईको आफ्नो खालको प्रस्तुतीकरण छ । र, प्रस्तुतीकरणमा उहाँको आफ्नै खालको मौलिकता भेटिन्छ, जुन मसला खालको फिल्मभन्दा पृथक छ । उहाँले परदेशिनेहरुको संवेदनालाई फिल्ममा व्यक्त गर्नुभएको छ ।’ उनले प्रकाश सपूतको अभिनय हेर्दा पहिलो फिल्म हो जस्तो नलागेको पनि बताए । उनले गायनसँगै अभिनयमा पनि राम्रो गर्न सक्ने गिरीको विश्वास छ ।

 

manoj gajurel


हाँस्य कलाकार मनोज गजुरेलले भने ‘परदेशी २’ नेपाली फिल्म क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने जिकिर गरेका छन् । फिल्मले देशको जल्दोबल्दो समस्या बोलेको बताउँदै उनले भने, ‘अहिले देशमा युवाहरु नै भेटिँदैनन् । विदेश पलायन भैरहेका छन् । घरमा पाहुना आउँदा बोल्ने समेत हुँदैनन् । अहिले यो आम नेपालीको पीडा हो । यसलाई फिल्मले एकदमै मिहीन ढंगले देखाएको छ ।’

 

Narayan Rayamajhi, Rajesh Banshal


लोक गायिका शान्तिश्री परियारले फिल्मभित्र हाँसो र रोदन दुवै रहेको र आफू कति ठाउँमा गहभरी भएको बताइन् । विशेष शोमा सकारात्मक प्रतिक्रिया मिलेपछि उत्साहित देखिएका निर्देशक रायमाझीले फिल्ममा घर-घरको कथा रहेकोले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । त्यस्तै, अभिनेता सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा सिवाकोटी फिल्मलाई रुचाइएकोमा खुसी देखिए ।