कलाकारहरुबीच ‘दोस्तीयारी’ कमै देख्न पाइन्छ । बढीजसो दुश्मनीकै चर्चा हुन्छ । कतिपयको हकमा राम्रो सम्बन्ध देखिए पनि त्यो देखावटी मात्र हुन्छ । एकाधको राम्रो सम्बन्ध नभएका पनि होइनन् । तर, प्रतिस्पर्धाको क्षेत्र भएकाले सुमधुर सम्बन्ध स्थापित हुन मुश्किल हुन्छ । त्यसमाथि एउटै क्षेत्र हुँदा कान भर्नेहरु कम हुँदैनन् । जसले गर्दा राम्रो सम्बन्ध पनि क्षणभरमै दुश्मनीमा बदलिन्छ ।
नेपाली फिल्म क्षेत्रमा समकालीन अभिनेताहरुबीच सुमधुर सम्बन्ध विरलै देखिन्छ । यस्तैमा, अहिलेका रुचाइएका तीन अभिनेताहरु अनमोल केसी, सलिनमान बनियाँ र सलोन बस्नेतबीच भने ‘दोस्तीयारी’ देखिन लागेको छ । सलोन दुवैसँग नजिक छन् । सलिनसँग अलि निकट देखिन्छन् । सलिन र अनमोल भने त्यति नजिक भैसकेका छैनन् । तर, सलोनले गर्दा उनीहरुबीच घनिष्टता बढ्दो छ ।
सलोनको व्रतबन्धमा पहिलोचोटी उनीहरु एकसाथ देखिएका थिए । त्यसपछि सलोनकै विवाह भेटिए । एकपटक फेरि उनीहरुबीच भेट भएको छ । शुक्रबार बिहान गोदावारीस्थित गोदावारी भिलेज रिसोर्टमा उनीहरुले एकसाथ डिनर गरेका थिए । सलोनले सलिन र अनमोलसँग एकसाथ खिचेको एउटा तस्विर आफ्नो सामाजिक सञ्जालमा राखेका छन् । जसले धेरैमा कौतुहलता जन्माएको छ ।
सलोनले फोटो सेअर गर्ने क्रममा क्याप्सनमा ‘कुकिङ’ भन्दै तीनटा स्टार राखेका छन् । यसले उनीहरुबीच कुनै प्रोजेक्टमा सहकार्य हुन लागेको संकेत गर्छ । यद्यपि, यसबारेमा कुनै जानकारी प्राप्त भएको छैन । सलोनको गत भदौमा ‘जय हो’ रिलिज भएको थियो भने सलोनले ‘यात्रा’पछि कुनै फिल्ममा काम गरेका छैनन् । अनमोल भने दशैंबाट फिल्म ‘फर्की फर्की’मा काम गर्ने तयारीमा छन् ।