करिब १२ वर्षपछि निर्देशक शंकर घिमिरे फिल्म ‘तेल भिसा’बाट निर्माण र निर्देशनमा फर्किँदैछन् । २ महिनाअघि फिल्मका लागि मुख्य भूमिकामा उनले अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरेका थिए । फिल्ममा उनको दोहोरो भूमिकामा हुने जनाइएको छ । आगामी फागुनदेखि नेपाल र अमेरिकामा छायांकन हुन लागेको फिल्ममा अन्य कलाकार तथा प्राविधिक छनोट हुन बाँकी छन् ।
यसैबीच, ‘तेल भिसा’को निर्माणमा सेभेन सिज इन्टरटेन्मेन्टले पनि सहकार्य गर्ने भएको छ । सेभेन सिजका तर्फबाट प्याट्रिक सुवेदी (प्रतिक) र वेल्डन क्रियशनका तर्फबाट निर्देशक घिमिरेले अमेरिकामा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै सहकार्यको घोषणा गरेका हुन् । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्दै आइरहेको सेभेन सिज पहिलोपटक फिल्म निर्माणमा आबद्ध भएको हो ।
सेभेन सिजले निर्माणमा सहकार्य गर्नुका साथै फिल्मलाई नेपालबाहेक विश्वभर प्रदर्शन गर्ने अधिकार समेत लिएको छ । यो फिल्मले सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने शीर्षकबाट बुझिन्छ । छोरा-छोरीले आफ्नो सन्तान भएपछि स्याहार-सुसार गर्न आमाबुबालाई विदेश बोलाउने चलन छ । त्यसलाई व्यंग्यात्मक रुपमा तेल भिसा भनिन्छ । फिल्म यही विषयमाथि बन्न लागेको हो ।