दशैंको माहोल सुरु भएसँगै शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’प्रति दर्शकको राम्रो आकर्षण देखिएको छ । शुक्रबार ठीकठाक रहेको फिल्मको अकुपेन्सी शनिबार समग्रमा ७० प्रतिशतसम्म रह्यो । यसलाई अहिलेको अवस्थामा सुखद् मान्न सकिन्छ । बलियो ‘वर्ड अफ माउथ’ रहेकाले आइतबार घटस्थापनाको विदाको फाइदा पनि फिल्मले राम्रो उठाउन सक्नेछ ।
करिब ७ वर्षअघि रिलिज भएको ‘परदेशी’ सिंगल थिएटरहरुमा बढी चलेको थियो । यतिबेला मल्टीप्लेक्सको युग छ । यो अवस्थामा फिल्मप्रति दर्शकको आकर्षण कस्तो रहन्छ भन्ने चासो धेरैमा थियो । शनिबार काठमाडौंसहित मोफसलका प्रायः मल्टीप्लेक्सहरुमा देखिएको दर्शकको चाप हेर्दा फिल्मले बलियो विश्वास आर्जन गरेको देखिन्छ । कति दर्शकहरु फिल्मको नामैले हल पुगेका छन् ।
फिल्मले उठाएको विषयवस्तुका कारण पारिवारिक दर्शकहरु हलमा बढी देखिएका छन् । र, प्रायः आँशु पुस्दै हलबाट निस्किएका छन् । फिल्मले घरी हँसाउने, घरी रुवाउने र धेरै दृश्यमा गम्भीर बनाउने भन्दै दर्शकले प्रशंसा गरेका छन् । शनिबार काठमाडौंका केही हल पुगेका कलाकारहरु प्रकाश सपूत, केकी अधिकारी र वर्षा सिवाकोटीलाई अंगालो मार्दै रुने दर्शकहरु पनि धेरै देखिए ।
शनिबार हलहरुमा दर्शकको राम्रो चाप देखिएपछि निर्देशक नारायण रायमाझीले खुसी व्यक्त गरे । उनी भन्छन्, ‘शनिबार पोखरा, बुटवल, नेपालगञ्ज, चितवनसँगै काठमाडौंका धेरै हल हाउसफुल भए । माउथ पब्लिसिटीले एकदमै राम्रो भैरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो र दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुनेमा हामी विश्वस्त छौं ।’
बढ्दो युवा पलायन र त्यसले समाजमा पारेको प्रभावको कथामा आधारित रहेको फिल्ममा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की आदिको पनि अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझीले फिल्मको निर्माण गरेका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् ।