अभिनेत्री आना शर्माको हकमा गायक देबेन्द्र बब्लुको एउटा गीत सान्दर्भिक हुनसक्छ, ‘म त पर्खेको पर्ख्यै छु ।’ उनलाई फिल्मको अभाव नभए पनि कुनैमा काम गर्न पर्खेको पर्ख्यै छिन् भने कुनै अधुरैमा छायांकन रोकिएर अड्किएको छ । कोभिडपछि उनले अभिनेता राजेश हमालसँग फिल्म ‘मायाको माया’मा काम गरेकी थिइन् । यो फिल्मको अझै २० प्रतिशत छायांकन हुन बाँकी छ ।
कोभिडअघि उनी अभिनेता अर्पण थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘लिम्बो’मा अनुबन्ध भएकी थिइन् । यो फिल्म अहिलेसम्म बन्न सकेको छैन । अब निर्माण हुनेमै आशंका छन् । यसपछि उनले ‘बिहे पास’ फेम्ड निर्देशक प्रवेश पौडेलको एक बेनामे फिल्म सम्झौता गरेकी थिइन् । फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह पनि भित्रिएकी थिइन् । तर, यो फिल्म पनि निर्माण भएको छैन ।
अघिल्लो वर्ष आना आफ्नो पहिलो फिल्म ‘जेरी’को दोस्रो फ्रेन्चाइजमा जोडिएकी थिइन् । यसै वर्षको बैशाखदेखि छायांकन सुरु गर्ने तयारी गरिएको थियो । अभिनेता अनमोल केसीसँग उनले केही हप्ता वर्कसप समेत गरेकी थिइन् । तर, अन्तिम समयमा फिल्मको छायांकन पोस्टपोन्ड भयो । र, गत महिना आना फिल्म ‘कामिनो’मा जोडिइन् । तर, यो फिल्म पनि बन्नेमा आशंका उब्जिएको छ ।
यसरी हेर्दा उनी फिल्म साइन गरेर पर्खेको पर्ख्यै मात्रै छिन् । ५ वर्षदेखि उनको कुनै फिल्म रिलिज भएको छैन । अब दर्शकलाई नै उनी विरानो हुने अवस्था आइसकेको छ । धन्न ! तीन महिनाअघि रिलिज भएको ‘सारंगी’ गीत हिट हुँदा उनलाई ठूलो राहत मिल्यो । अब उनलाई फिल्मको प्रतिक्षा छ । तर, साइन गरेका फिल्मको निर्माण अन्योल हुँदा उनको करिअरलाई नै असर गरिरहेको छ ।