हलिउड/बलिउडमा कुनै फिल्म हिट भयो भने त्यसलाई यूनिभर्स (कथा वा पात्रको निरन्तरता)को रुपमा अगाडि बढाउने ट्रेन्ड छ । ‘एक था टाइगर’, ‘सिंघम’, ‘स्पाइडर म्यान’, ‘डेडपूल’ आदि यसका उदाहरण हुन् । केही हदसम्म यो नेपालमा पनि छ । तर, प्रायः फिल्मको अघिल्लो श्रृंखलासँग कुनै लेनादेना नै हुँदैन । सिर्फ नामको ब्याज खानका लागि सिक्वेल तथा सिरिजहरु बनिरहेका छन् ।
सम्भवतः नेपालमा पहिलोपटक फिल्मको एउटा चरित्रमा केन्द्रित भएर कथाको निरन्तरताको रुपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ बनेको छ, जुन फूलपाती (कात्तिक ४ गते)बाट प्रदर्शनमा आउँदैछ । ‘पशुपति प्रसाद’लाई जहाँ विट मारिएको थियो, त्यहीँबाट नै सिक्वेलको सुरुवात गरिएको छ । र, अभिनेता विपिन कार्कीले निर्वाह गरेको भष्मे डन पात्रमा फिल्मको कथाले फन्को मारेको छ ।
‘पशुपति प्रसाद’लाई अब एउटा ‘यूनिभर्स’को रुपमा अगाडि बढाउने योजनामा निर्माता तथा लेखक खगेन्द्र लामिछाने देखिएका छन् । यसैले सिक्वेलमा केही नयाँ पात्रलाई प्रवेश गराइएको उनले स्पष्ट पारेका छन् । एउटै पात्रलाई घुमाएर फिल्म बनाइरहँदा एउटा विन्दूमा पुगेपछि दर्शकलाई रुचिकर हुन छाड्ने भएकाले सिक्वेलमा नयाँ पात्रको आगमन निकै आवश्यक रहने उनको धारणा छ ।
आइतबार एक भेटमा खगेन्द्रले भने, ‘हलिउडतिर बन्ने सिक्वेलमा नयाँ-नयाँ चिजहरु बुन्दै गइरहेको हुन्छ । र, धेरै श्रृंखलाहरु बन्छ । हाम्रो इच्छा पनि यसलाई एउटा यूनिभर्स बनाएर अगाडि लैजाऊ भन्ने छ । यसका लागि नयाँ पात्रहरु आउन जरुरी हुन्छ । सधैंभरि एउटै पात्रलाई घुमायो भने एउटा विन्दूमा पुगेपछि रुचिकर हुँदैन ।’ उनको भनाईले ‘पशुपति प्रसाद ३’ निर्माणको प्रष्ट संकेत गर्छ ।