‘सानो मन’ फेम्ड निर्देशक सुयोग गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फर्की फर्की’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी वर्षको जेठ ११ गतेलाई फिल्मको प्रदर्शन निश्चित भएको निर्माता रोहित अधिकारीले जानकारी गराए । यसअघि फिल्मलाई आगामी फागुन २५ गते रिलिज गर्ने तयारी थियो । तर, छायांकनको ढिलाइले रिलिज अर्को वर्ष पुगेको छ ।
यसैबीच, फिल्मको वर्कसप पनि सुरु गरिएको छ । आइतबारदेखि सुरु भएको वर्कसपमा फिल्मका मुख्य अभिनेता अनमोल केसी, नव-कलाकारद्वय रवि काफ्ले र समृद्धि अर्याल संलग्न छन् । यतिखेर बेलायतमा रहेकी फिल्मकी मुख्य अभिनेत्री जसिता गुरुङ भने केही दिनमै वर्कसपमा जोडिने जनाइएको छ । लभस्टोरी कथामा बन्न लागेको फिल्मलाई लिएर अनमोल उत्साहित देखिएका छन् ।
काठमाडौं, पोखरा र अन्नपूर्ण बेस क्याम्पमा छायांकन गरिने फिल्मको एउटा गीत इन्डोनेसियाको बालीमा खिचिने निर्देशक गुरुङले जानकारी दिए । रोहित अधिकारीले ओम प्रकाश अग्रवालसँग सहकार्य गरेर बनाउन लागेको फिल्मको सह-निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ ।
फिल्मको तिहारपछि अर्थात् आगामी मंसिर १ गतेबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । गत महिना फिल्मको ‘अनाउन्समेन्ट’ टिजर सार्वजनिक गरिएको थियो, जसमा अनमोलले निभाएको पात्रको मनोविज्ञान र उत्साहलाई प्रस्तुत गरिएको थियो । फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । अन्तर्राष्ट्रिय वितरकमा एमएसएम इन्टरटेन्मेन्ट छ ।