फिल्म प्रदर्शनअघि प्रिभ्यू भिडियो सार्वजनिक गर्ने प्रचलन नेपालमा खासै विकसित भैसकेको छैन । फूलपाती (कात्तिक ४ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को भने रिलिजको ६ दिन अगाडि नै झन्डै ४ मिनेट लम्बाईको प्रिभ्यू भिडियो सार्वजनिक गर्दै अभिनेता विपिन कार्कीले निर्वाह गरेको भष्मे डन पात्रको स्वभाव र रवाफलाई चित्रित गर्न खोजिएको छ ।
पशुपति क्षेत्रमा फिल्मको छायांकन भैराखेको हुन्छ । अभिनेत्रीमा आँचल शर्मा हुन्छिन् । जब भष्मेले आँचलसँग फोटो खिच्न खोज्छ तब प्रोडक्सनले दिँदैन । यसपछि भष्मेले आफ्नो रवाफ देखाउँछ । उसले साथीहरुसँग मिलेर छायांकन नै विथोलिदिन्छ । यसपछि प्रोडक्सनले छायांकन अनुमति लिएको कागजपत्र देखाएपछि भष्मे शान्त हुन्छ र उसलाई छाता ओढाएर बस्ने व्यवस्था मिलाइन्छ ।
भष्मे डन पात्रले पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न खोजेको रुपमा अर्थ्याउने यो दृश्य फिल्ममा ‘दुई चुल्ठी बाटन’ बोलको गीतभन्दा अगाडिको रहेको बुझिन्छ । उक्त गीत छायांकन भैरहेको समयमा भष्मे डन पात्रले आफूलाई हिरो सम्झिएर आँचलसँग पशुपति क्षेत्रमा नाचेको कल्पना गरेको छ । प्रिभ्यू भिडियोले दर्शकमा फिल्मप्रति थप चासो र कौतुहलता बढाउने निश्चित देखिन्छ ।
दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्ममा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, संजोग रसाइलीको पनि अभिनय छ । खगेन्द्र लामिछानेको निर्माण र लेखन रहेको फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।