मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिकटकमा ‘परदेशी २’का दृश्यदेखि रोएका भिडियो छ्यापछ्याप्ती

फिल्मीखबर, काठमाडौं, 2023/10/16

कुनै बेला युट्युबप्रति देखिएको क्रेज केही वर्षयता टिकटकमा सरेको छ । अहिले नेपालीहरुमाझ टिकटक सर्वाधिक लोकप्रिय छ । नेपालको ठूलो जनसंख्या टिकटकमै केन्द्रित हुन थालेपछि नेपाली फिल्मको प्रचारका लागि पनि यो एउटा राम्रो प्लेटफर्म बनेको छ । टिकटकमा फिल्मका गीतदेखि टिजर-ट्रेलरका दृश्य र संवाद हिट भैदियो भने त्यसले प्रचारमा ठूलो सघाउ पुर्‍याउने गरेको छ ।

तर, टिकटक नेपाली फिल्मका लागि जति फाइदामुलक देखिएको छ, त्यत्ति नै घातक पनि बनेको अवस्था छ । फिल्म रिलिजपछि कथा नै पूरै खुल्ने गरी हलमा खिचेर भ्यूज र फलोअर्सका लागि टिकटकमा राख्ने ट्रेन्ड मौलाउँदा निर्माताले ठूलै आर्थिक क्षति बेहोर्नु परिरहेको छ । यसविरुद्ध केही निर्माताले प्रहरीमा उजुरी नदिएका होइनन् । तर, अहिलेसम्म कुनै पनि उपलब्धि देखिएको छैन ।

 

pardesi tiktok


शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘परदेशी २’का दृश्यहरु पनि अहिले टिकटकमा छ्यापछ्याप्ती छन् । १५ सेकेण्डदेखि १५ मिनेटसम्म लामो फिल्मको दृश्य खिचेर टिकटकमा हालिएका छन्, जहाँ फिल्मको पूरै कथा खुलेको छ । हलमा खिचेर टिकटकमा अपलोड भएका भिडियोहरु जोड्ने हो भने सिंगो फिल्म बन्छ । यसबाट निर्माताले ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ । तर, निर्माता नै मौन छन् ।

टिकटकमा फिल्मका दृश्यसँगै फिल्म हेर्ने क्रममा रोएका भिडियोहरु पनि उत्तिकै भाइरल छन् । फिल्मको गम्भीर दृश्यमा भक्कानो छोडेर रोएकादेखि हत्केला, रुमाल र पछ्यौराले आँशु पस्दै गरेका भिडियोले यतिबेला टिकटक भरिएको छ । हरेक उमेर समुहका दर्शक फिल्म हेर्दा रोएका छन् । यसले दर्शकको ठूलो वर्गमा फिल्म हेर्ने हुटहुटी जगाएको छ, जुन फिल्मका लागि सुखद् पक्ष हो ।

फिल्म हेर्दा दर्शकहरु धेरै रुन थालेपछि हेटौंडाको एक हलले त रुमाल नै बाँँड्ने तयारी गरेको छ । नारायणी मलमा रहेको एनएस सिनेमा हलले दर्शकलाई आँशु पुस्नका लागि रुमाल वितरण गर्न लागेको हो । हल सञ्चालक नवराज आचार्य भन्छन्, ‘जतिले फिल्म हेरेका छन्, प्रायः सबै रुँदै र मलिन अनुहार लिएर बाहिरिएका छन् । यसैले हामीले अब रुमाल वितरण गर्ने योजना बनाएका छौं ।’

शनिबार र आइतबार देशभर राम्रो व्यापार गरेपछि फिल्मको टिम सोमबारबाट दर्शक प्रतिक्रिया बुझ्न मोफसल यात्रामा निस्किएको छ । अभिनेता प्रकाश सपूत र अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा सिवाकोटीले चितवन, बुटवल, नेपालगञ्ज र पोखराका हलमा पुगेर दर्शकहरुसँग प्रत्यक्ष भेट गर्नेछन् । सुखद् ‘वर्ड अफ माउथ’ रहेको यस फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् ।