यो वर्षका लागि बलिउडको अर्को ठूलो फिल्म ‘टाइगर ३’ दीपावलीको छेको पारेर प्रदर्शनमा आउँदैछ । अभिनेता सलमान खानको मुख्य भूमिका रहेका कारण फिल्मको नेपालमा समेत ठूलो पखाई छ । फिल्मलाई निर्माण कम्पनी यशराजले नोभेम्बर १० अर्थात् कात्तिक २४ गतेबाट प्रदर्शन गर्न लागेको थियो । तर, अब २ दिन पछि (कात्तिक २६ गते)बाट फिल्म प्रदर्शनमा आउने भएको छ ।
‘टाइगर ३’ २ दिन पछि सर्दा सबैभन्दा ठूलो राहत निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’लाई भएको छ । किनकि, यो फिल्म कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘टाइगर ३’सँग भिड्दा दर्शक त बाँडिन्थे नै, शोमा समेत फिल्म चेपुवामा पर्न सक्थ्यो । अब कमसेकम दुई दिन कुनै अवरोध हुने छैन । र, फिल्मले बम्पर ओपनिङ गरेमा दुई दिनमा नै लगानीको ठूलो हिस्सा उठ्नेछ ।
तेस्रो दिनबाट त्यसै पनि फिल्म ‘वर्ड अफ माउथ’को भरमा चल्ने हो । ‘दिमाग खराब’को हकमा पनि यही लागू हुनेछ । यद्यपि, तेस्रो दिनदेखि ‘टाइगर ३’ले फिल्मको ठूलो मात्रामा शो खोस्न सक्छ । किनकि, यो फिल्मप्रतिको क्रेज र सलमानको स्टारडमका कारण मल्टीप्लेक्सहरुले सर्वाधिक शो बाँड्ने निश्चित छ । जसले गर्दा ‘दिमाग खराब’लाई बक्सअफिसमा ठूलो अंक जोड्न कठीन हुनेछ ।
त्यसो त निश्चल ‘टाइगर ३’सँग एकै मितिमा फिल्म जुधाउन तयार थिए । यसले उनी आफ्नो फिल्मप्रति पूर्ण आश्वस्त रहेको देखाउँछ । नभए बलिउडका ठूला स्टारका फिल्मसँग भिड्न हम्मेसी कोही तयार हुँदैनन् । दुई दिनपछि आउने ‘टाइगर ३’सँगको भिडन्तका बावजूद ‘दिमाग खराब’ले आफूलाई बक्स अफिसमा सशक्त रुपमा उभ्याउन सकेमा फिल्म क्षेत्रकै लागि यो एउटा ‘मानक’ बन्नेछ ।
‘लुट’बाट नेपाली फिल्मको कथा भन्ने शैली नै बदलेका निश्चलको आफ्नै क्रेज छ । त्यसमाथि उनले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् । यसले गर्दा ‘दिमाग खराब’को ओपनिङ उच्च हुनसक्ने सम्भावना बलियो छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल लगायतको मुख्य भूमिका रहेको फिल्म अहिले ‘झम्के झमा झम’ गीतका कारण चर्चामा छ ।