नेपालमा फिल्मको सेन्सर विवादले बेला बखतमा सानोतिनो पराकम्पन नै ल्याउने गर्छ । फिल्म बुझेका व्यक्तिभन्दा सेन्सर बोर्डमा विभिन्न मन्त्रालयका कर्मचारी हाबी हुने भएकाले फिल्मको मर्म नै मर्ने गरी अनावश्यक रुपमा कैँची चलाउने प्रवृति रहेको गुनासो फिल्मकर्मीहरुले गर्दै आइरहेका छन् । कतिपयले सेन्सर बोर्डको औचित्य नै नभएको भन्दै खारेजीको माग समेत गर्ने गरेका छन् ।
सोमबार काठमाडौंमा ओटीटी प्लाटफर्म ‘कान्तिपुर सिनेमाज्’को लञ्च कार्यक्रममा कलाकार तथा निर्माता दीपकराज गिरीले सेन्सर कडाई हुँदै गइरहेको र यसले फिल्म बनाउन कठीन भैरहेको बताएका थिए । उनको भनाईलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हातमा कैँची छ भन्दैमा अनावश्यक रुपमा नचलाउन सेन्सर बोर्डलाई आग्रह गरेका छन् ।
उनले भने, ‘सेन्सर चाहिँदै चाहिँदैन भन्ने हैन । तर, अनावश्यक रुपमा हातमा कैँची छ भनेर चलाउनु हुँदैन । देशकै विरुद्ध छ भने, देशको अहितमा छ भने या साप्रदायिक सद्भाव खलबलाउने छ भने त्यसलाई भाषा परिवर्तन गराउन सकिन्छ । तर, त्यसको मर्म मर्नु हुँदैन । त्यो हिसाबले सेन्सर गर्नुपर्छ । तर, जेसुकै कुरामा सेन्सर, सानातिना कुरामा पनि अनावश्यक रुपमा सेन्सर गर्नु हुँदैन ।’
सेन्सरसम्बन्धी विवाद आफूले पनि सुन्दै आइरहेको बताउँदै ओलीले यस्तो शासन सही नहुने बताए । नेपाली फिल्मकर्मीहरु अत्यन्त जिम्मेवार रहेको र कडाई सेन्सरको जरुरी नभएको उनको तर्क छ । ‘हाम्रा फिल्मकर्मीहरु अत्यन्त जिम्मेवार छन् । त्यसैले कडाई सेन्सर जरुरी छैन । सेन्सरमा केही समस्याहरु छन् । म यो विषयमा थप छलफल गरेर सरकारसँग कुरा पनि राखौंला,’ उनले भने ।
त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले उदार भाव राखेर नेपाली फिल्मको सेन्सर गर्न सेन्सर बोर्डलाई आग्रह गरेका छन् । ‘बोर्ड र सेन्सर बोर्ड अलग-अलग हुन् । यद्यपि, नेपाली फिल्मको सेन्सर गर्दाखेरि अलि उदार भाव राखिदिन म सेन्सर बोर्डलाई आग्रह गर्न चाहन्छु । जसले गर्दा देशभित्र भैराखेका राम्रा र नराम्रो दुवै पक्ष दर्शकमाझ आउन सकुँन्,’ उनले भने ।