दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको नारायण रायमाझीद्वारा निर्देशित फिल्म ‘परदेशी २’को कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । निर्माताले मंगलबार सार्वजनिक गरेको पोस्टरमा फिल्मको चार दिने (सोमबारसम्म) कलेक्सन १ करोड ९८ लाख ग्रस उल्लेख छ । अर्थात् निर्माताले झन्डै २ करोड दाबी गरेका छन् । शनिबार र आइतबार फिल्मको कमाई राम्रो थियो ।
काठमाडौंभन्दा उपत्यकाबाहिरका हल (विशेषगरी सिंगल थिएटर)मा फिल्मप्रति दर्शकको आकर्षण देखिएको छ । ‘परदेशी २’लाई अब ठूलो चुनौती भनेको बिहीबारबाट प्रदर्शन हुन लागेको विजय थलापती स्टारर साउथ फिल्म ‘लियो’ हो । र, शुक्रबार बलिउड फिल्म ‘गणपत’ र शनिबार ‘पशुपति प्रसाद २ : भष्मे डन’ पनि प्रदर्शनमा आउन लागेकाले फिल्मलाई हलमा टिक्न सहज देखिन्न ।
शनिबारबाट दशैं विदा सुरु हुने भएकाले फिल्मले लगानी उठाएर नाफा दिनेमा निर्माण टिम पूर्ण विश्वस्त छ । फिल्म हेर्न हलहरुमा हरेक उमेर समुहका दर्शक देखिएका छन् । फिल्म हेर्दा हलभित्रै रोएका भिडियोहरु यतिबेला टिकटकमा भाइरल छन्, जसले गर्दा अन्य दर्शकमा फिल्म हेर्न हुटहुटी जगाएको छ । बढ्दो युवा पलायनले घर-समाजमा परेको प्रभावको कथामा फिल्म आधारित छ ।
फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, रमा थपलिया, नीर शाह, दीलिप रायमाझी, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की आदिको पनि अभिनय छ । फिल्ममा गीतकार रमेश बिजीको लेखन रहेको छ । निर्देशक रायमाझी र राजेश वंशलले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् । यो फिल्मबाट गायक सपूतले अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।