‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि अब यसको तेस्रो श्रृंखला निर्माण गरिँदैछ । कात्तिक १३ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्ममा अघिल्लो श्रृंखलाका कलाकारहरु विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत नै दोहोरिँदैछन् भने थपिनेमा हरिवंश आचार्य छन् । अब थप तीन कलाकारहरु दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्गदेल पनि फिल्ममा जोडिएका छन् ।
उनीहरुले आफ्नो ‘लुक्स टेस्ट’ गरिसकेका छन् भने आफ्नो पात्रबारे पूर्ण रुपमा तयार भैसकेका छन् । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले उनीहरुको आगमनले टिमको ‘लाइनअप’ अझै बलियो बनेको बताए । ‘हामीले कलाकारको ‘लाइनअप’लाई बलियो बनाएका छौँ । श्रृंखलाप्रति बढ्दो दर्शकको विश्वासले स-सानो भूमिकामा पनि राम्रो कलाकार छानिरहेका छौँ’, उनले भने ।
प्रदीप भट्टराईको लेखन र निर्देशन रहने फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् । षट्कोण आर्ट्सको ब्यानरमा बन्न लागेको फिल्मको प्रदर्शन मिति आगामी चैत ९ गतेलाई घोषणा गरिसकिएको छ । २ करोडमा फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भैसकेको छ । ब्रान्ड भ्यालु भएको यो फिल्मले बक्सअफिसमा आक्रामक कमाई गर्ने प्रक्षेपण गरिएको छ ।