विस्तारै विदेशमा नेपाली फिल्मले बलियो उपस्थिति जनाउन थालेको छ । कुनै बेला विन्ती गरेर टिकट बिक्री गरिन्थ्यो र रेस्टुरेन्ट या कम्यूनिटी हलमा प्रोजेक्टरबाट फिल्म देखाइन्थ्यो । अहिले विदेशी फिल्मसरह बक्स अफिसमै रिलिजको हैसियत नेपाली फिल्मले बनाइसकेको छ । र, केही फिल्मले विदेशमा राम्रो कमाई पनि गरेका छन् । ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’ यसका उदाहरण हुन् ।
विदेशी भूमिमा नेपाली फिल्मको बजार विस्तार हुन थालेसँगै फिल्म किन्न प्रदर्शकहरुबीच एकखालको प्रतिस्पर्धाझैं छ । र, यतिबेला नेपाली फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गर्ने मामलामा सेभेन सिज इन्टरटेनमेन्ट सबैभन्दा अगाडि देखिएको छ । एकपछि अर्को आशातित फिल्म यो कम्पनीले आफ्नो कब्जामा पार्दै आइरहेको छ । साथै, फिल्म निर्माणमा समेत सहकार्य गर्न थालेको छ ।
यसबीच, अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउट ल’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार पनि सेभेन सिजले खरिद गरेको छ । यो कम्पनी फिल्मको सह-निर्मातमा पनि जोडिएको कार्यकारी निर्माता साहिल खानले जानकारी दिए । फिल्ममा सेभेन सिज जोडिएपछि आर्थिक रुपमा सहज भएको उनले बताए । अब चाँडै नै फिल्मको प्रदर्शन मिति घोषणा गरिने उनको भनाई छ ।
नवीन गुरुङको छायांकन रहेको ‘आउट ल’मा सुशीलसँगै नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको पनि अभिनय छ । एक्सन-थ्रिलर जनरामा निर्माण भएको फिल्मले कानुन नमान्ने एक पात्रको कथा वाचन गरेको छ । शशांक खड्का, अमित अग्रहरी र बिनोद कठायत निर्मातामा रहेको फिल्मलाई बिक्की महर्जनले निर्देशन गरेका हुन् ।