कोरोना महामारीको समयमा महिनौं फिल्मको काम पूर्ण रुपमा ठप्प भएपछि धेरै कलाकारहरुले वैकल्पिक पेशा सुरु गरेका छन् । प्रायःले रेस्टुरेन्टमा लगानी गरेका छन् भने कसैले रियल स्टेट, शेयर कारोबार, बुटिक आदिमा हात हालेका छन् । यस्तैमा, फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेर बलिउड प्रवेशका लागि मुम्बईमा संघर्षरत अदिती बुढाथोकीले पनि व्यवसाय थालेकी छन् ।
उनले काठमाडौंको टंगाल (भाटभटेनी)मा ‘तुरण्य नेपाल’ नाममा बुटिक सञ्चालनमा ल्याएकी हुन् । केही हप्ताअघि बुटिकका लागि फोटोसुट गर्न उनी भारतबाट नेपाल आएकी थिइन् । यो बुटिकको इन्स्टाग्राममा उनले साडी र कुर्तीमा फोटोसुट गरेका तस्विरहरु भेटिन्छन् । यतिबेला उनी मुम्बईमा छिन् । बुटिक भने आमा पुष्पा बुढाथोकीले सम्हालेकी छन्, जो फिल्म ‘बाबरी’की निर्मात्री हुन् ।
बुधबार अभिनेत्री स्वस्तिमा खड्काले उक्त बुटिकमा पुगेर त्यहाँ उपलब्ध निलो रंगको कुर्तीमा अदितीकी आमासँग खिचेको एउटा तस्विर आफ्नो इन्स्टा स्टोरीमा साझेदार गर्दै अदितीलाई बधाई दिएकी छन् । स्वस्तिमा र अदितीले एकसाथ फिल्ममा काम नगरेको भए पनि उनीहरुबीच राम्रो सम्बन्ध छ । गत महिना अभिनेता धिरज मगरको बर्थडे सेलिब्रेसनमा उनीहरु एकसाथ देखिएका थिए ।
दशैंको अवसरमा अदितीलाई दुईटा संयोग जुरेको छ । एकातिर उनको बुटिक सञ्चालनमा आएको छ भने अर्कोतिर उनी अभिनीत फिल्म ‘बाबरी’ घटस्थापनाबाट युट्युबमा रिलिज भएको छ । अब उनी ‘बाबरी २’मा काम गर्ने चर्चा छ । धेरै हिन्दी र पञ्जाबी गीतमा अभिनय गरिसकेकी उनले केही समयअघि अमेजन प्राइमका लागि ‘म्यूजिक’ नामक एक हिन्दी वेब सिरिजमा काम गरेकी थिइन् ।