प्रायः कम उमेरका अभिनेत्रीहरु फिल्ममा आमाको भूमिका निर्वाह गर्न डराउँछन् । यसले एउटा छवि निर्माण हुने र भविष्यमा अरु भूमिकामा प्रस्ताव नआउने डर उनीहरुमा हुने गर्छ । तर, केहीले कम उमेरमै आमाको भूमिका निर्वाह गर्ने बोल्ड कदम उठाएका छन् । त्यसमध्ये एक हुन्, अर्चना जोइस । २४ वर्षको उमेरमै उनले साउथ फिल्म ‘केजीएफ’मा आमाको भूमिका निभाएकी थिइन् ।
फिल्ममा रकी भाईको भूमिकामा रहेका सुपरस्टार यशको आमाको भूमिकामा अर्चनाले अभिनय गरेकी थिइन् । फिल्ममा उनको भूमिका सानो भए पनि सशक्त थियो । र, उनको अभिनय उतिक्कै जीवन्त । करिअरमै ठूलो जोखिम उठाएर आमाको भूमिका निर्वाह गरेकी उनका लागि ‘केजीएफ’ अन्ततः ‘टर्निङ पोइन्ट’ बन्यो । रोचक कुरा के छ भने यशभन्दा उनी ९ वर्षले कान्छी छिन् ।
उनको जन्म २४ डिसेम्बर १९९४ मा भारतको कर्नाटकमा भएको थियो । उनले टीभीको दुनियाँमा सन् २०१५ मा आफ्नो करिअर सुरु गरेकी थिइन् । उनले ‘महादेवी’, ‘दुर्गा’, ‘श्री विष्णु दशावतारम’ जस्ता धार्मिक टेलिसिरियलमा अभिनय गरेकी छन् । फिल्ममा भने उनले ‘केजीएफ’बाटै ब्रेक पाएकी हुन् । त्यसयता अर्चनाले आधा दर्जन बढी दक्षिण भारतीय फिल्ममा काम गरिसकेकी छन् ।
उनी कथक डान्सर पनि हुन् । यसकारण उनी कयौं स्टेज शोजको हिस्सा बनिसकेकी छन् । उनको अब इच्छा बलिउड फिल्ममा काम गर्नेछ । यसका लागि उनी राम्रो चरित्रको पखाईमा छिन् । ‘केजीएफ’मा साधारण महिलाको रुपमा देखिएकी उनी वास्तविक जीवनमा भने निकै सुन्दरी र आकर्षक छिन् । ‘केजीएफ’मा काम गरेपछि ठूलो फ्यान फलोइङ कमाएकी अर्चना विवाहित हुन् ।