नेपाली समाजभित्रको कथा-व्यथालाई मनछुने गरि पर्दामा उतार्न सक्ने निर्देशकको रुपमा चिनिन्छन्, दीपेन्द्र के. खनाल । ‘पशुपति प्रसाद’ होस् या ‘आमा’, ‘धनपति’ होस् या ‘चिसो मान्छे’, यी उनको विशेषता चिहाउने आँखीझ्याल हुन् । उनले जुन प्रकारका फिल्म पस्किरहेका छन्, त्यसको उनको निर्देशकीय कद उँचो बनाएको छ । यसैले त उनलाई फिल्ममा गल्ती गर्न छुट छैन भन्ने गरिन्छ ।
सन् २००९ मा फिल्म ‘द युगदेखि युगसम्म’बाट निर्देशकको रुपमा करिअर सुरुवात गरेका खनाल आफ्ना फिल्ममा प्रायः नयाँ-नयाँ प्रयोग गर्न रुचाउँछन् । उनले पहिलो फिल्ममा नै अभिनेता राजेश हमाललाई फरक रुपमा प्रस्तुत गरेका थिए । पहिलोपटक उनले यौन मनोविज्ञानमा फिल्म ‘चपली हाइट’ बनाए । नेपालमा पहिलो पटक थ्रीडी फिल्म ‘भिजिलान्ते’ बनाउने निर्देशक पनि उनै हुन् ।
अब दीपेन्द्र निर्देशित नयाँ फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शनमा आउँदैछ । यसमा उनले ‘सिंक साउन्ड’ (लोकेसन साउन्ड)को प्रयोग गरेका छन् । ‘सिंक साउन्ड’ प्रयोग भएको यो पहिलो नेपाली फिल्म नभए पनि पशुपति जस्तो भीडभाड रहने ठाउँमा यसको प्रयोग आफैंमा चुनौतीपूर्ण थियो । यो फिल्मलाई उनको परीक्षाको रुपमा समेत हेरिएको छ ।
७ वर्षअघि प्रदर्शनमा आएको ‘पशुपति प्रसाद’ खनालको करिअरको एउटा ‘अर्थपूर्ण’ फिल्म मानिन्छ । फिल्ममा उनको कथावाचन शैली पृथक थियो । अब यसको सिक्वेल बनेको छ । सिक्वेल आफैंमा चुनौतीपूर्ण हुन्छ । तर, नेपालमा प्रायः कमाउने उद्देश्यले मात्र सिक्वेल बनिरहेका छन् । के यसबाट दीपेन्द्र मुक्त छन् त ? प्रस्तुत छ उनीसँग हालै एक भेटमा गरिएको संवादको सम्पादित अंश :
१. ‘पशुपति प्रसाद २ : भष्मे डन’ कमाउने उद्देश्यले मात्र बनाइएको त होइन नि ?
हामीले त्यो सोचले फिल्म कदापि बनाएका होइनौं । यदि कमाउने उद्देश्य मात्र हुन्थ्यो भने ‘पशुपति प्रसाद २’का लागि ७ वर्ष लाग्दैन थियो होला ।
‘पशुपति प्रसाद’ भन्ने वितिक्कै दर्शकको मनमा बसेको ताजा फिल्म हो । यसको राम्रो सिक्वेल बन्नुपर्छ अन्यथा बन्नु हुँदैन भन्ने हामी स्पष्ट थियौं । यो ७ वर्षको दौरानमा धेरै कथाहरु बुनियो । स्क्रिप्ट मात्र ३/४ वटा तयार भयो । तर, कुनैमा ‘कन्भिन्स’ भएनौं । बल्ल एउटा स्क्रिप्टमा हामी ‘कन्भिन्स’ भयौं । यसमा राम्रो फिल्म बन्न सक्छ र ‘पशुपति प्रसाद’को लिगेसीलाई बोक्न सक्छ भन्ने भएपछि सिक्वेल बनाएका हौं ।
२. यो सिक्वेल हो कि स्पिन-अप हो ?
दुवै होइन । सिक्वेल भन्दा फेरि त्यही हुनुपर्छ भन्ने हुन्छ । स्पिन-अप भन्दा एउटा मात्र चरित्रमा केन्द्रित भन्ने हुन्छ । फिल्ममा अरु क्यारेक्टरहरु कसरी बुनिएको छ भन्ने हो । मैले ठ्याक्कै भन्नुपर्दा जहाँ भष्मे डन छोडिएको थियो, त्यहाँबाट कथा उठान छ । भष्मे डनको यात्राको श्रृंखला हो यो । ‘पशुपति प्रसाद’मा धेरै कुरा पशुपति प्रसाद पात्रको आएको थियो । भष्मे डनको आएको थिएन । भष्मे डन भन्ने पात्र को हो, कहाँबाट आयो र कस्तो मान्छे हो भन्ने कुरा यसमा छ ।
३. ‘पशुपति प्रसाद’मा खगेन्द्र लामिछाने (पशुपति प्रसाद) मुख्य भूमिकामा हुनुहुन्थ्यो । यसमा उहाँ हुनुहुन्छ कि हुनुहुन्न ?
त्यो चाहिँ ‘सस्पेन्स’ छ । अहिले नै सबै कुरा भन्दा फिल्म हेर्दाखेरि मज्जा नआउन सक्छ । फिल्म हेर्दै गर्दा कतै पनि पशुपति प्रसाद भन्ने क्यारेक्टर नभएको अनुभूति चाहिँ हुँदैन होला । किनभने, उसको अस्तित्व अझै पनि पशुपतिमा त्यतिक्कै बलियो देखिन सक्छ ।
४. ‘पशुपति प्रसाद’मा एउटै गीत थिएन । तर, यसपटक रोमान्टिक भावका दुईवटा गीत (चुल्ठी बाटन र प्रेम शरणम्) समावेश छन् । जसले गर्दा धेरैमा कतै बजारमुखी भएर फिल्म बनेको त छैन भन्ने आशंका उब्जिएको छ । बजारमुखी नै हुनुभएको हो कि यसबाट मुक्त हुनुहुन्छ ?
हामी यसबाट पूर्ण रुपमा मुक्त छौं । बजारलाई यो मन पर्छ र त्यो मनपर्छ होला भनेर ‘पशुपति प्रसाद’को लिगेसीलाई विगार्ने काम गरेका छैनौं । फिल्म हेरेपछि दर्शकले त्यो महसुस गर्नुहुनेछ ।
हो, गीत-संगीत आएपछि मैले पनि यसखालको कुरा सुनेको छु । किनकि, एउटा माया गरेको फिल्म नविग्रियोस् भन्ने चाहना हुनु स्वभाविक हो । तर, हामीले कतै पनि ‘पशुपति प्रसाद’को लागेसीलाई विगार्ने काम गरेका छैनौं । यसमा म विश्वास दिलाउन चाहन्छु ।
५. फिल्ममा ‘सिंक साउन्ड’को प्रयोग भएको छ । यो कसरी सम्भव भयो अनि कति कठीन रह्यो ?
‘सिंक साउन्ड’को मुख्य श्रेय खगेन्द्रजीलाई जान्छ । उहाँले आफ्नो फिल्म ‘पानीफोटो’मा ‘सिंक साउन्ड’को प्रयोग गर्नुभएको थियो । मैले पनि ‘सिंक साउन्ड’को विषयमा सोचिरहेकै थिएँ । तर, पशुपति जस्तो भीडभाड हुने क्षेत्रमा त्यो सम्भव नहोला भन्ने लागेको थियो । खगेन्द्रजीले नै प्रस्ताव गरेपछि हामी तयार भयौं ।
‘सिंक साउन्ड’को प्रयोग गर्दा छायांकनको क्रममा धेरै नै गाह्रो भयो । किनकि, एकदमै भीडभाड हुने ठाउँ थियो । प्लेनको साउन्डले उस्तै समस्या दिन्थ्यो । काम गर्दाखेरिको गाह्रो मलाई मात्र होइन, प्राविधिकदेखि कलाकारसम्मलाई भएको थियो । एकदमै धेरै ‘रिटेक’ हुने गर्थ्यो । र, निर्मातालाई आर्थिक रुपमा पनि गाह्रो पक्ष थियो ।
यद्यपि, यसका बावजूद फिल्ममा साउन्डको काम एकदमै राम्रो भएको छ । हामीले हलमा तीनपटक फिल्म हेरिसकेका छौं । साउन्डमा चाहिँ मैले अहिलेसम्म गरेका फिल्मभन्दा उत्कृष्ट महसुस गरेको छु । प्रायः समीक्षकहरुले फिल्मको साउन्डले कान दुख्यो भन्ने गर्नुहुन्थ्यो । हुन पनि नेपाली फिल्मको साउन्ड कान देख्ने नै छ । तर, ‘पशुपति प्रसाद २’मा चाहिँ कानलाई कहीँ कतै विझाउँदैन । साउन्डले फिल्मलाई धेरै माथि उठाएको छ ।