७ वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पशुपति प्रसाद’को सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ शनिबार (फूलपाती)बाट सार्वजनिक प्रदर्शनमा आएको छ । मल्टीप्लेक्सहरुमा प्राप्त गरेको शोज र बुकिङको अवस्था हेर्दा फिल्मले २ करोडको ओपनिङ गर्न सक्ने सम्भावना देखिएको छ । प्रदर्शनमा आएसँगै फिल्म देशभर नै ‘हाउसफुल’ रहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।
फिल्मलाई ६ दिन लामो दशैं विदा छ । बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भए फिल्मले विदामै लगानी सुरक्षित गरेर निर्मातालाई राम्रो मुनाफा दिन सक्नेछ । फिल्मलाई ठूलो चुनौती भनेको बिहीबार आएको साउथ फिल्म ‘लियो’ र शुक्रबारदेखि प्रदर्शनरत बलिउड फिल्म ‘गणपत’ थियो । तर, दुवै फिल्मलाई निकै खराब प्रतिक्रिया मिलेको छ, जुन ‘भष्मे डन’का लागि कमाउने राम्रो अवसर हो ।
आफैंमा ‘ब्रान्ड भ्यालु’ भएको फिल्म हो यो । जसले गर्दा फिल्मको निर्माणकै चरणदेखि ठूलो चर्चा थियो । फिल्ममा स्टारकास्ट पनि बलियो छ । र, अबको झण्डै चार हप्ता हलमा कुनै ठूला फिल्म छैनन् । यी विभिन्न कारणले फिल्मले ‘कबड्डी ४’को २२ करोडको बक्स अफिस रेकर्ड तोड्न सक्ने आँकलन कतिपयले गरेका छन् । तर, यसको निर्धारण फिल्मलाई प्राप्त हुने प्रतिक्रियाले गर्नेछ ।
‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ । फिल्मको निर्माता तथा लेखक खगेन्द्र लामिछाने हुन् । फिल्ममा खगेन्द्रसँगै वर्षा सिवाकोटीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।