हरेक वर्ष दशैंलाई लक्षित गरेर धेरै गीत सार्वजनिक हुने गरेका छन् । तर, एकाधले मात्र चर्चा पाउँछन् । त्यो पनि सीमित समयका लागि मात्र । दशैं सकिएसँगै त्यसको आयु पनि सकिन्छ । पछिल्ला केही वर्षयता कुनै दशैं गीत कालजयी बन्न सकेका छैनन् । बरु वर्षौं पहिला सार्वजनिक भएका दशैं गीतहरुकै हालीमुहाली रहेको अवस्था छ । केही गीतहरुलाई त दशैंको पर्याय नै मान्ने गरिन्छ ।
एनलग (रिल)को समयमा धेरै नेपाली फिल्ममा दशैंको रमाइलो, खुसीयाली तथा महत्त्व झल्काउने गीतहरु समावेश हुने गरेका थिए । तर, अचेल फिल्ममा दशैं गीत नै समेटिन छाडेका छन् । जसले गर्दा पुराना गीतहरु नै वर्षेनी सर्वाधिक घकिने गर्छन् । प्रस्तुत छ नेपाली फिल्ममा समावेश पाँच दशैं गीतहरु, जुन कालजयी छन् । जसमा परदेशीको कथादेखि मायाप्रेमका विषय बुनिएका छन् ।
१. ‘दशैं आयो...’
दशैंको बारेमा गाइएको सबैभन्दा लोकप्रिय गीत हो, ‘दशैं आयो..’ । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’ मा समावेश यो गीतमा परदेश गएको छोरा घर आएको, छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गरिएको छ । दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा यो गीतमा देखिएका छन् ।
गीतमा उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईंको संयुक्त गायन छ । सुरेश अधिकारीको संगीत रहेको गीतका सर्जक लोकनाथ सापकोटा हुन् । अमुल कार्कीको गीतमा एरेञ्ज छ । धन कमाउन परदेश गएका युवाहरुको कथामा निर्मित फिल्ममा ‘दशैं आयो..’ गीत कथावाचनको रुपमा राखिएको छ ।
२. ‘रातो टीका निधारमा टलक्क टल्कियो...’
दशैं आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो’ । यो दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’को गीत हो । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत छन् । सहदेव ढुंगानाको शब्द रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका थिए ।
यो गीतको रिमेक भर्सन पनि सार्वजनिक भइसकेको छ । यही गीतको नाम सापटी लिएर निर्माण भएको फिल्म ‘रातो टीका निधारमा’मा उक्त गीतलाई रि-एरेञ्ज गरेर राखिएको थियो । रि-एरेञ्ज गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । रि-एरेञ्ज गरिएको गीतलाई पनि दर्शकले निकै रुचाएका छन् ।
३. ‘रातो टीका दशैंको जमरा...’
दशैंमा बज्ने सदाबहार गीतमध्येको एक हो, ‘रातो टीका दशैंको जमरा’ । यो गीत डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘मनमन्दिर’मा समावेश छ । युवराज लामा निर्देशित फिल्मको गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह प्रस्तुत छन् । यो गीतले पनि दशैं आएको अनुभूति गराउँछ । गीतमा राजेश हमाल निरुताको दिलको कोठामा डेरा सर्ने कुरा गरेका छन् ।
४. ‘यसपाली पनि परदेशमै वित्ने भो दशैं तिहार...’
परदेशीको पीडा बोल्ने यो गीत फिल्म ‘देशदेखि विदेशसम्म’को हो । दशैंबारे गाइएको यो सदाबहार गीतमा विदेशमा बसेका नेपालीहरुले दशैं मनाएको र दशैंमा नेपाल सम्झेका पलहरुलाई बुनिएको छ । गीतमा रामकृष्ण ढकालको स्वर छ । गीतमा अभिनेता निखिल उप्रेतीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्देशक भने नरेन्द्र थापा हुन् ।
५. ‘लै बरी लै लै...’
दुई दशक अगाडिको तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘लहना’मा समावेश गीत हो यो । दशैं आएको सम्झाउने यो गीतमा दशैंको वातावरण चित्रण गरिएको छ । गीतमा अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान फिचर्ड छन् । गीतको शब्द तुलसी घिमिरेले लेखेका हुन् भने संगीत सचिन सिंहको छ । गीतमा थुप्तेन भूटिया र दीपा झाको स्वर छ ।