आज विजया दशमी अर्थात् दशैंको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउँदै दशैं मनाइँदैछ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।
दशैंलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । नेपाली फिल्मका कलाकारहरुले पनि आफ्ना परिवारसँग दशैंको टीका लगाएका छन् । दशैंको टीका लगाएका तस्विरहरु कलाकारहरुले आ-आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले छोरा तथा अभिनेता अनमोल केसीसहित परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका तस्विरहरु सामाजिक सञ्जालमा सेअर गरेका छन् । अभिनेता गौरव पहारीले पिता तथा अभिनेता टीका पहारीबाट टीका ग्रहण गरेको तस्विर फेसबुकमा राख्दै दशैं जनाएका छन् ।
अभिनेत्री श्वेता खड्काले श्रीमान् र छोरीको साथमा सासु-ससुराबाट दशैंको टीका लगाएको तस्विरहरु सामाजिक सञ्जालमा राखेकी छन् भने अभिनेत्री केकी अधिकारीले माता-पिताबाट टीका लगाएकी छन् । कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि दशैंको टीका लगाएको तस्विर फेसबुकमा राखेका छन् ।
कलाकारहरु रमेश बुढाथोकी, निर्मल शर्मा, दीपाश्री निरौला, सलिनमान बनियाँ, मलिका महत, दीपिका प्रसाईं, राज कटुवाल, जितु नेपाल, वर्षा सिवाकोटी, ऋचा शर्मा, नीता ढुंगाना र हरिहर अधिकारी, पूजा शर्मा, पल शाह लगायतले पनि दशैंको टीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा सेअर गरेका छन् ।