अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जवान’पछि बलिउडले अर्को हिट फिल्म पाउन सकेको छैन । एकपछि अर्को सुपरस्टारका फिल्महरु डुबेका डुब्यै छन् । यसैक्रममा, बलिउडका ‘एक्सन स्टार’को रुपमा कहलिएका टाइगर श्राफ अभिनीत फिल्म ‘गणपत’ पनि यस वर्षको ठूलो डिजास्टर बन्न पुगेको छ । यो फिल्मबाट निर्माताको हातमा पोस्टर छपाईको पैसा समेत नपर्ने देखिएको छ ।
२ सय करोडमा बनेको फिल्मले प्रदर्शनको पहिलो हप्तामा ११ करोड ९५ लाख मात्र कमाएको छ । फिल्मको ओपनिङ नै दयनीय थियो । २ करोड ५ लाख पहिलो दिन कमाएको फिल्मले दोस्रो र तेस्रो दिन गरि जम्मा ४ करोड ५० लाख कमाएको थियो । निकै खराब प्रतिक्रियापछि चौंथो दिनमा फिल्मको कमाई १ करोड ३० लाखमा झर्यो । यसपछि कमाई निरन्तर आरोलो लागिरहेको छ ।
सातौं दिनमा फिल्मले जम्मा १ करोड ३ लाख मात्रै कमाएको छ । अब फिल्मको व्यापारमा उछाल आउने सम्भावना देखिएको छैन । भारतका धेरैजसो हलले फिल्मलाई एक हप्ता अगावै उतारिसकेका छन् । टाइगरलाई स्टारडम भएको अभिनेताको रुपमा चित्रित गरिँदै आएको भएपनि ‘गणपत’को असफलताले उनको करिअरलाई संकटमा पारेको छ । त्यसो त फिल्म आफैंमा कमजोर थियो ।
‘गणपत’ मात्र होइन, शुक्रबार (आज)देखि प्रदर्शनमा उत्रिएको अभिनेत्री कंगना रनावट स्टारर फिल्म ‘तेजस’ले पनि फ्लपको संकेत गरिसकेको छ । पहिलो दिन फिल्मले ७५ लाख मात्रै कमाई गरेको जनाइएको छ । १३ सय स्क्रिनमा लागेको फिल्मलाई ‘वर्ड अफ माउथ’ पनि राम्रो मिलेको छैन । अब बलिउडको आशा भनेको सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’मा रहेको छ ।