मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नारायण रायमाझीको हिटमा ‘ह्याट्रिक’

फिल्मीखबर, काठमाडौं, 2023/10/28

‘ह्याट्रिक’ शब्द आफैंमा विशेष मानिन्छ । यसलाई सफलताको मानक मान्ने गरिन्छ । लगातार कुनै पनि कुरामा तीनपटक उपलब्धि हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली फिल्म क्षेत्रमा पनि यसका लागि ठूलै संघर्ष हुने गर्छ । निर्देशक हुन् या कलाकार, हिटमा ‘ह्याट्रिक’को चाहना सबैको हुन्छ । तर, व्यावसायिक सफलता चुनौतीपूर्ण भएकाले ‘ह्याट्रिक’को मौका भने कमैले पाउँछन् ।

धेरैपछि एक निर्देशकले ‘ह्याट्रिक’को रेकर्ड बनाउन सफल भएका छन् । लोक दोहोरीको क्षेत्रमा गर्विलो पहिचान बनाएका नारायण रायमाझीले प्रदर्शनरत फिल्म ‘परदेशी २’ सफल भएसँगै हिटमा ह्याट्रिक गरेका हुन् । यसअघि उनी निर्देशित दुईवटा फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएका थिए । संकटको अवस्थामा रहेको फिल्म क्षेत्रलाई त्यसबेला यी दुई फिल्मले प्राण दिएका थिए ।

 

परदेशी २'मा काल्पनिक कथा छैन : नारायण रायमाझी


७ वर्षपछि ‘परदेशी २’बाट रायमाझी निर्देशनमा फर्किएका हुन् । यो आफैंमा ठूलो खाडल थियो । फिल्म क्षेत्रको माहोल, दर्शकको स्वाद, चेतनास्तर र विश्वव्यापी ‘ट्रेन्ड’ नै बदलिसकेको थियो । यो अवस्थामा ९० को दशकको शैलीमा बनेको ‘परदेशी २’ दर्शकलाई रुचिकर हुनेमा आशंका उब्जिएको थियो । तर, दर्शकले घरगाउँकै कथालाई रुचाउँछन् भन्ने कुरा यो फिल्मले प्रमाणित गरेको छ ।

रिलिजको ३/४ दिनसम्म त फिल्म व्यावसायिक रुपमा सफल हुने सम्भावना नै झिनो देखिएको थियो । नकारात्मक समीक्षाको बाढी आउँदा दर्शक भड्किने अवस्था बनेको थियो । तर, फिल्मले उठाएको विषयवस्तुका कारण विस्तारै हलमा दर्शकहरु बढ्न थाले । तेस्रो हप्तासम्म आइपुग्दा फिल्मले निर्मातालाई गतिलै मुनाफा दिइसकेको छ । अझै फिल्मप्रति दर्शकको आकर्षण घटेको देखिन्न ।

शनिबारबाट दशैं सकिएको छ । आइतबारबाट कामकाजी दिन सुरु हुँदैछ । दशैं विदाको राम्रो फाइदा उठाएको फिल्मको असली परिक्षा आइतबारबाट हुनेछ । यद्यपि, फिल्मले लगानी उठाएर नाफा दिइसकेकाले निर्मातालाई ठूलो चिन्ता छैन । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आइतबार मात्रै फिल्मलाई २६ शोज दिएको छ । यसले पनि फिल्मको हलमा दबदबा बोल्छ ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’बाट रायमाझीले आफूलाई दर्शक रुवाउन सक्ने निर्देशकको छवि बनाएका थिए । यसलाई उनले ‘परदेशी २’बाट पनि डगमगाउन दिएका छैनन् । तथापि, उनको कथावाचन शैली बदलिएको छैन, जसले गर्दा यसपटक उनले समीक्षकबाट राम्रैसँग आलोचना खेप्नु पर्‍यो । तर, नेपालमा समीक्षकले नरुचाएका कयैन् फिल्म सफल छन् । यसमा ‘परदेशी २’ पनि परेको छ ।