‘आईसीसी टी-२० मेन्स विश्वकप २०२४’को एसिया क्वालिफायर कात्तिक १३ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । यसका लागि नेपाली खेलाडीको हौसला बढाउन विभिन्न संस्था तथा व्यक्तिले पुरस्कार राशीको घोषणा गरिरहेका छन् । यसबीच, तिहारको छेको पारेर यही कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दिमाग खराब’का निर्माताले पनि पुरस्कार राशीको घोषणा गरेका छन् ।
‘टी-२०’मा ‘दिमाग खराब म्यान अफ दी म्याच’ बन्ने खेलाडीलाई ५० हजार र आफ्नो खेल कौशलले टिमलाई महत्त्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘दिमाग खराब सेग्मेन्ट अफ दी डे’ अन्तर्गत १० हजार प्रदान गरिने निर्माता रौनक बिक्रम कडेलले जानकारी दिए । यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउनेछन् । यसको छनोट गर्ने सम्पूर्ण अधिकार भने नेपाल क्रिकेट सङ्घ (क्यान)लाई दिइएको छ ।
त्यस्तै, फिल्मको कूल मुनाफाको ५ प्रतिशत (नेट) क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ । यसविषयमा आइतबार निर्माता कँडेल र क्यानका पदाधिकारीबीच सहमति भएको छ । नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको कँडेलले बताए । नेपाली फिल्मले इतिहासमा नै पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा क्यानसँग सहकार्य गरेको हो ।
क्रिकेटका सौखिक रौनकले भने- ‘अहिले देशलाई चिनाउने काम क्रिकेटले गरिरहेको छ । नेपाली खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरिहेका छन् । यो बेला सबैको साथ, सहयोग र हौसलाको खाँचो छ । यसैले फिल्मको तर्फबाट यो घोषणा गरेका हौं ।’ क्यानसँग मिलेर फिल्मको टिमले ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।
निश्चल बस्नेतको निर्देशन रहेको यो फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अपर्ण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, रमा थपलिया, राजन खतिवडा, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट आदिको अभिनय छ । सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक बस्नेतको पनि विशेष भूमिका छ ।