नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमाथि बन्न लागेको फिल्म ‘अन्जिला’को छायांकन सुरु भएको छ । एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा मंगलबार शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । २०७८ सालको चैतमा फिल्मको निर्माण घोषणा गरिएको भए पनि एन्जिलाकै व्यस्तताका कारण छायांकन सुरु हुन सकेको थिएन ।
इलाम, झापा र काठमाडौँमा छायांकन हुने फिल्मको क्याप्टेनसिप मिलन चाम्सले सम्हालेका छन् । फिल्ममा एन्जिला स्वयंकै मुख्य भूमिका रहनेछ भने दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको पनि अभिनय रहनेछ । एन्जिलाको कष्टकर बालापनदेखि खेल जीवनसम्मको कथामा फिल्म बन्न लागेको हो ।
सफल खेलाडी बन्नुअघि एन्जिलाले धेरै दुःख भोगेको र इच्छाशक्ति भए केही पनि असम्भव छैन भन्ने सन्देश फिल्मले दिने निर्देशक चाम्सले बताए । उनले यो एन्जिलाको बायोपिक भने नभएको बताएका छन् । ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने भएपनि बायोपिक नभएको उनले स्पष्ट पारे । त्यस्तै, निर्माता प्रेम कुमार श्रेष्ठले फिल्ममा एन्जिलाको जीवनको उतार-चढावलाई प्रस्तुत गरिने बताए ।
‘अन्जिला’मा प्रदीप भारद्वाज र यम थापाको लेखन रहेको छ भने पटकथा लेखनमा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन् । सुदीप बरालको डिओपी रहने फिल्मको सम्पादन मिलन श्रेष्ठले गर्नेछन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको सह निर्मातामा विनोद अग्रवाल र राजेश बागादिया रहेका छन् । विनोद सुवेदी खत्री फिल्मको निर्माण नियन्त्रक हुन् ।
२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा भएको एएफसी यु-१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी त्यही वर्ष राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् ।