नेपालमा घोषणामा मात्र सीमित भएका फिल्मको संख्या ठूलो छ । घोषणा गरिएका एकाध फिल्म मात्र छायांकनमा जान्छन् । कति फिल्म छायांकनको क्रममा बजेट अभावले अलपत्र समेत परेका छन् । फिल्मको घोषणामा भने ठूलै तामझाम गरिन्छ । कतिपयले पाँचतारे होटलमा समेत फिल्मको घोषणा राख्ने गर्छन् । तर, नेपाली फिल्मका लागि पाँचतारे होटल ‘अनलक्की’ देखिँदै आएको छ ।
पाँचतारे होटलमा घोषणा भएका कयैन् फिल्म निर्माण नै हुन सकेका छैनन् । २०७४ सालको जेठमा ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले दरबारमार्गको पाँचतारे होटल याक एन्ड यतिमा फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण घोषणा गरेका थिए । फिल्ममा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने जानकारी गराइएको थियो । तर, घोषणाको ६ वर्ष भैसक्दा समेत यो फिल्मको निर्माण अन्योल छ ।
करिब ७ वर्षअघि नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्टमा फिल्म ‘ह्याप्पी न्यू इयर’को घोषणा गरिएको थियो । निर्देशकमा प्रविण श्रेष्ठ र कलाकारमा अनुप विक्रम शाही र वेनिशा हमाल थिए । यो फिल्म पनि घोषणामै सीमित रहन पुग्यो । यही होटलमा शोभित बस्नेतले निर्देशन गर्ने भनिएको बलिउड फिल्म ‘मैं वो नहीं’को पनि निर्माण घोषणा गरिएको थियो । तर, यो फिल्म पनि बन्न सकेन ।
एभरेष्ट होटलमै २०७८ सालमा अर्को फिल्म ‘घुइँचो’को घोषणा गरिएको थियो । घोषणामा कुन हदसम्म चटक देखाइएको थियो भने फिल्मका कलाकारद्वय एलिजा गौतम र कुन्साङ बम्जनलाई हिँड्नका लागि होटलको महंगो कार्पेटमाथि फूल विछ्याइएको थियो । फिल्मको निर्देशकमा दीपेन्द्र लामा थिए । तर, यो फिल्म पनि घोषणामै सीमित भयो । अब यसको ‘च्याप्टर’ नै क्लोज भैसकेको छ ।
सोही होटलमा अघिल्लो वर्ष फिल्म ‘सिड्नी’को निर्माण घोषणा गरिएको थियो । यस वर्षको बैशाखबाटै छायांकन सुरु गर्ने भनिएको फिल्मको मुख्य भूमिकामा सविन श्रेष्ठ र रीमा विश्वकर्माको अभिनय रहने जानकारी गराइएको थियो । देवकुमार श्रेष्ठले निर्देशन गर्ने फिल्मको २० प्रतिशत छायांकन नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने जनाइएको थियो । तर, अब यो फिल्म बन्नेमै आशंका छ ।
दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णमा घोषणा भएका दुई फिल्म ‘रानी महल’ र ‘कस्मिक लभ’ भने छायांकनमा निस्किएर पनि अलपत्र परेका छन् । निर्माताबीचको मनमुटावका कारण यी दुवै फिल्म केही प्रतिशत छायांकनमै रोकिन पुगे । यसरी हेर्दा पाँचतारे होटलमा फिल्मको घोषणा नफापेकै देखिन्छ । बरु फेसबुकमै घोषणा भएका फिल्म बनेका पनि छन् र धेरैले कमाएका पनि छन् ।
पाँचतारे होटलमा फिल्मको घोषणा गरेपछि बजारमा ठूलो हल्लाहल्ला हुन्छ भन्ने भ्रम कतिपय निर्मातामा छ । यसैले ठूलो खर्च गरेर तामझामका साथ फिल्मको घोषणा गर्छन् । तर, फिल्मको घोषणापछि एकाएक सेलाउँछन् । विशेषगरि नयाँ निर्माताले फिल्मको घोषणा कार्यक्रममा पैसाको ठूलो तडकभडक देखाउने गरेको पाइन्छ । यसैले भनिएको होला, ‘नयाँ जोगीले बढी नै खरानी घस्छ ।’