बक्स अफिसका हिट मेशिन कहलिएका सुपरस्टार दयाहाङ राईको यस वर्ष लगातार फिल्महरु रिलिज भैरहेका छन् । बैशाखदेखि भदौसम्म उनको चारवटा फिल्म प्रदर्शनमा आइसकेका छन्, जसमध्ये दुईवटा व्यावसायिक रुपमा सफल भए । अब यही कात्तिक २४ गतेबाट उनको नयाँ फिल्म ‘दिमाग खराब’ रिलिज हुँदैछ । यस्तै, माघमा उनको अर्को फिल्म ‘दयारानी’ रिलिज हुने भएको छ ।
मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । फागुन १ गते जनयुद्ध दिवस र २ गते सरस्वती पूजाको सार्वजनिक विदाको मौका छोप्दै फिल्म प्रदर्शनमा आउन लागेको हो । माओत्से गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङको जोडी अभिनेत्री दीया पुनसँग बाँधिएको छ । दुवैले यसअघि ‘वीर विक्रम र मिस्टर झोले’मा काम गरेका छन् ।
‘कबड्डी’ निर्माण कम्पनी बासुरी फिल्म्सको प्रस्तुति तथा माओत्से गुरुङ फिल्म्सको निर्माण रहेको फिल्मले एक अहङ्कारी श्रीमानबाट श्रीमतीले भोग्ने समस्याको कथालाई उठाएको छ । फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतको पनि अभिनय छ । गुरुङ भाषाको फिल्म निर्देशन गर्दै आइरहेका माओत्सेले यो फिल्मबाट मूलधारे फिल्ममा पाइला राखेका हुन् ।
फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन छ । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु, खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ, सूर्य प्रकाश गुरुङ र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्ममा निर्देशक गुरुङकै लेखन छ । फिल्ममा दीया पुनलाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको निर्देशक गुरुङको भनाई छ ।
फेरि आफ्नै फिल्मसँग दयाहाङको भिडन्त
यस वर्षको बैशाख १ गते दयाहाङका दुईवटा फिल्म ‘जारी’ र ‘बिहे पास’बीच भिडन्त भएको थियो । माघ २६ मा पनि यही अवस्था दोहोरिने देखिएको छ । यसअघि यो मिति फिल्म ‘हात्तीछाप’ले रोजिसकेको छ, जसमा उनको मुख्य भूमिका छ । अब यही मितिमा ‘दयारानी’ पनि आउने भएपछि उनलाई तनाव सिर्जना भएको छ । उनले यी दुवै फिल्मको रिलिज मिलाउन पहल गर्नुपर्ने देखिन्छ ।