मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मलाई दशैं फलिफाप, तिहारमा ‘दिमाग खराब’को परीक्षा

फिल्मीखबर, काठमाडौं, 2023/10/31

चाडपर्वमा फिल्म रिलिज व्यावसायिक हिसाबले राम्रो मानिन्छ । यसपालिको दशैंमा रिलिज भएका दुई नेपाली फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’को व्यापारले पनि यसलाई प्रमाणित गर्छ । यी दुवै फिल्मले दशैं विदाको फाइदा राम्रैसित उठाए । र, व्यावसायिक रुपमा पनि सफल ठहरिए । दशैंको माहोलमा दुवै फिल्मप्रति देशभरका हलमा दर्शकको ठूलो क्रेज देखिएको थियो ।

विदेशी फिल्मको चुनौतीका बावजूद दशैंमा दुई नेपाली फिल्म चम्किएका हुन् । ‘परदेशी २’ले रिलिजको सातौं दिनमा साउथ फिल्म ‘लियो’ र आठौं दिनमा बलिउड फिल्म ‘गणपत’सँग घरेलू बक्स अफिसमा चर्को प्रतिस्पर्धा गर्नुपरेको थियो । ‘पशुपति प्रसाद २’का लागि पनि दुवै भारतीय फिल्म चुनौती बनेको थियो । तर, यी दुई फिल्म कमजोर निस्किँदा दर्शकको रोजाईमा नेपाली फिल्म परे ।

 

pardeshi 2, bhasme don and dimag kharab


यसपालिको दशैं नेपाली फिल्मका लागि फलिफाप सावित हुँदा अब पखाई र चासो तिहारको छ । कात्तिक २५ गतेदेखि तिहार सुरु हुँदैछ र ३० गतेसम्म तिहारको सार्वजनिक विदा छ । यही मौकामा ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट प्रदर्शन हुँदैछ । पर्याप्य विदा रहेकाले फिल्मलाई व्यावसायिक सफलता हासिल गर्ने राम्रो अवसर छ ।

निर्देशक-निर्माताको टिमदेखि स्टारकास्टसम्म बलियो रहेकाले फिल्मले सुखद् ओपनिङ गर्न सक्ने प्रक्षेपण गरिएको छ । फिल्मलाई चुनौती भनेको दुई दिनपछि प्रदर्शनमा आउने हिन्दी फिल्म ‘टाइगर ३’ हो । यो फिल्मले ‘दिमाग खराब’को ठूलो मात्रामा शो खोस्न सक्छ । यो अवस्थामा फिल्मलाई सकारात्मक ‘वर्ड अफ माउथ’को साहरा आवश्यक पर्नेछ । अर्थात् फिल्म सशक्त हुन जरुरी छ ।

‘दिमाग खराब’मार्फत् निश्चल ६ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसैले फिल्मप्रति दर्शकमा उच्च अपेक्षा छ । किनकि, निश्चलले ‘लुट’बाट दर्शकको ठूलो विश्वास कमाएका छन् । त्यसयता उनको नामै फिल्म चल्ने एउटा आधार मान्ने गरिन्छ । तिहार पनि नेपाली फिल्मका लागि सुखद् बनेको अवस्थामा अर्को दशैं र तिहारमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलो तछाडमछाड चल्ने निश्चित छ ।