फिल्मको सफलता कलाकारमा निर्भर रहँदैन । यदि रहन्थ्यो भने अभिनेत्री वर्षा सिवाकोटीले ७ वर्ष पर्खिनु पर्दैन थियो । सन् २०१६ मा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’पछि उनले हिटको महसुस नै गर्न पाएकी थिइनन् । यो अवधिमा उनले मुख्य भूमिकामा अभिनय गरेका झण्डै एक दर्जन फिल्म प्रदर्शनमा आए । यसमध्ये उनले ठूलो आशा गरेका फिल्मले समेत सफलता देख्न पाएनन् ।
दशैंको माहोल छोपेर असोज २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ले भने उनलाई ७ वर्षपछि हिटको अभाव मेटाएको छ । फिल्म यस वर्षको हिट सावित भैसकेको छ । फिल्मको मुख्य अभिनेत्रीमध्ये एक भएकाले यसको ‘क्रेडिट’ वर्षाले पनि पाएकी छन् । यद्यपि, उनको अभिनयको खासै प्रशंसा हुन सकेन । त्यसो त फिल्मले पनि समीक्षकबाट उत्ति राम्रो प्रतिक्रिया पाएको छैन ।
फिल्मको प्रचारमा वर्षाभन्दा केकी अधिकारी र प्रकाश सपूत हाबी थिए । मोफसल प्रचारदेखि बाग्लुङ प्रिमियरसम्म निर्माण टिमले केकी र प्रकाशलाई नै काखी च्यापेको थियो । प्रचारमा कम प्राथमिकता पाएको भए पनि फिल्म सफलताको ‘श्रेय’ उनलाई केकी र प्रकाश बराबर नै मिलेको छ । ७ वर्षदेखि फिल्मको असफलतासँग जुधिरहेकी वर्षाका लागि ‘परदेशी २’ सञ्जीवनी बुटी बनेको छ ।
रोचक कुरा के छ भने उनको विशेष भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले पनि व्यावसायिक सफलता पाइसकेको छ । अर्थात् यस वर्ष उनलाई दुवै हातमा लड्डूझैं भएको छ । अब उनको पाइपलाइनमा लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘काजी’ छ । यसमा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिनेछ । योबाहेक वर्षाले अरु फिल्म सम्झौता गरेकी छैनन् ।