ओस्कार अवार्डको ९६औँ संस्करणमा नेपालबाट सिफारिस भएको फिल्म ‘हल्कारा’मा उम्दा अभिनय गरेकी विनिता थापा मगरको नयाँ फिल्म ‘जम्प’को प्रदर्शन मिति घोषणा गरिएको छ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन रहेको फिल्मको मंगलबार एक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २९ गतेलाई प्रदर्शन मिति निश्चित गरिएको हो । यो मितिमा फिल्म ‘दुई कदम’ पनि छ ।
कथा प्रोजेक्ट्स इन्डिपेन्डेन्ट स्टुडियो र क्रियटिभ माकुरा मिडिया प्रोडक्सनको सहकार्य रहेको फिल्ममा विनिताका साथै सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन, प्रवल कडेलको पनि अभिनय छ । विदेशका विभिन्न फेस्टिभलमा पुगेको यो फिल्म दर्शकलाई पृथक लाग्ने निर्देशक कार्कीले बताए । फिल्म साइकोलोजिक थ्रिलर जनरामा बनेको छ ।
राष्ट्रिय धावक बनेका एक मुख्य पात्रलाई समय परिवर्तन गर्न सक्ने अलौकिक क्षमता प्राप्त हुन्छ । यसपछि उसलाई आफूले दबाएर राखेका विगतका अनुभूतिहरुले पिरोल्न थाल्छन् । योसँगै आउने ट्विस्ट र भ्रष्टचारको कथामा फिल्म बनेको छ । कार्यकारी निर्माता इशा खड्काले यो फिल्मले कथावाचन शैली र प्रस्तुतिमा नेपाली फिल्म क्षेत्रमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेकी छन् ।