निर्देशक निश्चल बस्नेतको पर्याय बनेको फिल्म हो, ‘लुट’ । यो फिल्मले उनलाई जुन ‘नेम र फ्रेम’ दियो, त्यो अभूतपूर्व थियो । नेपाली फिल्मको परम्परागत कथावाचन शैलीको रुपरेखा नै बदलेका उनी ‘लुट’बाट सेलिब्रेटी निर्देशक कहलिए । उनको क्रेज अहिले पनि कुनै स्टारको भन्दा कम छैन । र, उनका फिल्मप्रति दर्शकहरुमा जुन खालको विश्वास र अपेक्षा देखिन्छ, त्यो ‘लुट’कै प्रतिफल हो ।
निश्चलले ‘लुट’पछि फिल्म ‘टलकजंग भर्सेस टुल्के’ बनाए । फिल्मले व्यावसायिक सफलतासँगै सुखद् समीक्षा प्राप्त गर्यो । यसपछि उनले ‘लुट २’को निर्देशन गरे । फिल्म सफल त भयो तर चर्को आलोचना खेप्नु पर्यो । ‘लुट’को नाम भजाएर सिक्वेल बनाएको भन्दै उनको आलोचना भएको थियो । यसपछि ६ वर्ष निर्देशनबाट टाढा बसेका उनले फिल्म ‘दिमाग खराब’बाट कमब्याक गरेका छन् ।
कोरोना महामारीको समयमा फिल्मको काम ठप्प हुँदा निश्चलले आफैंलाई प्रश्न गरेका रहेछन्, ‘मैले फिल्म बनाइनँ भने अरु के गर्न जानेको छु र ?’ यसपछि उनी निर्देशनलाई निरन्तरता दिने निर्णयमा पुगेका थिए । कोभिडको बेलामा उनले आफ्नै फिल्म धेरैपटक हेरे र कमी-कमजोरी औंल्याए । अब उनलाई के लाग्न थालेको छ भने निर्देशनबाट टाढा रहने होइन, आफ्नै फिल्मबाट सिक्ने हो ।
एक पोडकास्टमा निश्चलले भनेका छन्, ‘फिल्ममा जति नै इमानदार प्रयास गरेको भएता पनि अझ राम्रो गर्न सकिन्थ्यो भन्ने भैरहन्छ । मैले हरेक पटक इमानदार भएर कोसिस गर्नुपर्छ । तर, लामो समय निर्देशनबाट टाढा बस्नु अनुत्पादक हुन्छ कि जस्तो लाग्यो । मैले निरन्तर फिल्म बनाइराखे भने गल्ती गर्छु तर त्यो गल्ती अर्को फिल्ममा दोहोर्याउँदिनँ । मेरो सिकाई भनेको मेरै फिल्म त हो ।’
अब उनी एक वर्षमा एउटा फिल्म बनाउने योजनामा छन् । ‘जति काम गर्दै गयो त्यति नै निखारिँदै जाने त रहेछ । यसैले अब हरेक वर्ष एउटा फिल्म बनाउने सोचमा छु । र, त्यसरी नै आइडिया पनि ‘डेभलप’ गरिरहेको छु,’ उनले भनेका छन् । टिजर र ट्रेलर हेर्दा ‘दिमाग खराब’ राजनीतिक विषयमा आधारित रहेको हुनसक्ने देखिन्छ । निश्चल भने फिल्म सामाजिक कथामा बनेको दाबी गर्छन् ।
‘हामीले राजनीतिक विषयमा फिल्म बनाएको होइन । यो ‘सोसियल ड्रामा’ हो,’ उनी भन्छन्, ‘एउटा साधारण मान्छेको कथा हो, जो केही कुराले पिल्सिन्छ । ऊ विदेश जान पाउँदैन र उसले कस्तो समस्याहरु झेल्नुपर्छ भन्नेमा फिल्म आधारित छ । फिल्ममा ह्यूमर पनि टन्नै छ । डार्क ह्यूमरको हिसाबमा झन् धेरै छ ।’ फिल्म तिहारको छेको पारेर यही कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।