इन्टनेटको पहुँच बढेसँगै विभिन्न सामाजिक सञ्जालमा फिल्मको प्रचार गर्ने ट्रेन्ड पनि बढेको छ । निर्माताले फिल्मको प्रचारका लागि सामाजिक सञ्जालमा मात्रै लाखौं रुपैयाँ खर्चिँदै आएका छन् । अब यसको विकल्पको रुपमा ‘पोष्टाम’ नामक अनलाइन प्लेटफर्मको उदय भएको छ । फिल्मका सामाग्रीलाई विश्वभर पुर्याउने उद्देश्य लिएको उक्त प्लेटफर्मले फिल्म ‘काजी’सँग सहकार्य गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘पोष्टाम’का सीइओ रोनिस दाहाल र फिल्मका निर्देशक लक्ष्मण रिजालबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । ‘पोष्टाम’ले ५० लाख बराबर फिल्मको विश्वव्यापी बजार प्रवर्द्धन निःशुल्क रुपमा गर्ने जनाइएको छ । निर्देशक रिजालले फेसबुक, टिकटकमा प्रचारका लागि गर्नुपर्ने खर्चको समाधानको रुपमा आफूले ‘पोष्टाम’लाई लिएको बताए ।
त्यस्तै, ‘पोष्टाम’का सीइओ दाहालले यो सामाजिक सञ्जाल मात्र नभइ एउटा ‘एफिलेट’ प्लेटफर्मको रुपमा अगाडि बढाएको बताए । यसलाई फेसबुक जस्तै गरी प्रयोग गर्न सकिने पनि उनले प्रष्ट्याए । तर, यो ‘एफिलेट’ प्लेटफर्म पनि भएकाले फिल्मजस्ता भिडियो कन्टेन्टलाई ल्याएर त्यसको बजार प्रवर्द्धन गरिने उनको भनाई छ । फिल्मको बजार प्रवर्द्धन विश्वव्यापी हुने उनले जानकारी दिए ।
‘सुरुवातमा हामी टिजर, ट्रेलर, पोस्टरबाटै फिल्मको बजार प्रवर्द्धन गर्छौं । यसका लागि ‘पोष्टाम’का अरु माध्यम पनि प्रयोग गर्नेछौं । हामीले आफ्नो बजार पनि अध्ययन गर्नुपर्ने भएकाले अहिलेलाई फिल्मको बजार प्रवर्द्धन निःशुल्क गरेका छौं,’ सीइओ दाहालले भने । निर्देशक रिजालले भने ‘पोष्टाम’लाई फिल्मको कुनै पनि राइट्स नदिएको प्रष्ट पार्दै प्रमोशनको मात्र अधिकार दिएको बताए ।
आगामी माघदेखि छायांकन सुरु हुन लागेको फिल्ममा विपिन कार्की, वर्षा सिवाकोटी, विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्कीको अभिनय रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने फिल्मको छायांकन बेलायतमा गरिने जनाइएको छ । रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल रहेका छन् ।