अभिनय र लेखनमा अब्बल मानिएका खगेन्द्र लामिछानेका लागि यस वर्ष विशेष छ । यही दशैंमा उनको लेखन तथा निर्माण रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ व्यावसायिक रुपमा सफल ठहरियो । अब उनको मुख्य भूमिका रहेको फिल्म ‘दिमाग खराब’ तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्म पनि सफल भैदिए उनका लागि यस वर्ष यादगार रहनेछ ।
‘दिमाग खराब’को छायांकन सुरु हुँदाखेरि उनलाई ‘भष्मे डन’को छायांकनको चटारो थियो । यसैले उनले फिल्मको चरित्रका लागि तयारी गर्न पाएनन् । यद्यपि, उनी स्क्रिप्ट ‘रि-राइट’मा भने सँगै थिए । उनी निर्देशक निश्चल बस्नेतमा समर्पित भएर आफूले फिल्ममा काम गरेको बताउँछन् । यो फिल्ममा आफूले ‘डिरेक्टर्स एक्टर’ (निर्देशकको कलाकार)को रुपमा काम गरेको उनको भनाई छ ।
बिहीबार एक भेटमा खगेन्द्रले भने- ‘मेरो निर्माण रहेको ‘पशुपति प्रसाद २’को छायांकन चलिरहँदा ‘दिमाग खराब’को छायांकन सुरु भएको थियो । फिल्मको स्क्रिप्ट ‘रि-राइट’को चरणमा भने म पनि संलग्न रहेको थिए । निश्चलसँग मैले पहिला पनि फिल्म ‘टलकजंग भर्सेस टुल्के’मा काम गरेको हुँ । त्यसले गर्दा मलाई ऊप्रति पूर्ण विश्वास थियो । मैले सानो गल्ती गरेँ भने पनि उसले समातिहाल्छ ।’
फिल्मको चरित्रमा तयारी गर्न समय नभ्याएको भए पनि निश्चलले आफूप्रति देखाएको विश्वासकै कारण फिल्ममा काम गरेको उनले बताए । ‘मैले फिल्मको चरित्रको तयारीका लागि समय दिन पाएको थिइनँ । तर, निश्चलले मप्रति जुन विश्वास देखायो, त्यसपछि मैले ‘तिमी मेरो निर्देशक हौं, म तिमीमै समर्पित हुन्छु’ भनेर काम गरेँ । यसमा मैले ‘डिरेक्टर्स एक्टर’ भएर काम गरेको छु,’ उनले भने ।
हरेक कुरालाई सुक्ष्म रुपमा हेर्ने बानी थाहा भएकाले पनि निश्चलमा समर्पित हुन आफूलाई कुनै समस्या नभएको खगेन्द्रको अनुभव छ । ‘मैलेभन्दा बढी त्यो क्यारेक्टर निश्चलले बुझेका थिए । यसैमा म उसमा समर्पित भएँ,’ उनले भने, ‘निश्चलले हरेक कुरालाई सुक्ष्म रुपमा हेर्ने बानी थाहा भएकाले उसमा समर्पित हुन समस्या भएन । र, मलाई निश्चलले फिल्म राम्रो बनाएको छ भन्नेमा विश्वास छ ।’