मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उपहार’ फागुन २५ लाई निश्चित, ‘वाह् वाह् वाह्’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/11/03

यस वर्षको महाशिवरात्रीमा नेपाली फिल्मबीच रोचक प्रतिस्पर्धा हुने छनक देखिएको छ । आगामी फागुन २५ गते एकपछि अर्को फिल्म थुप्रिरहेका छन् । ‘काँडेतार’, ‘रंगेली’ र ‘लोकल हिरो’पछि अब यो मितिमा अभिनेत्री रेखा थापाको कमब्याक फिल्म ‘उपहार’ पनि प्रदर्शनमा आउने भएको छ । शुक्रबार एक गीत रिलिज गर्दै महाशिवरात्रीलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

 

Rekha Thapa, Benisha Hamal, Pooja Sharma, Mukun


काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको डान्सिङ तथा रोमान्टिक फ्लेवरको ‘वाह् वाह् वाह्’ गीतमा फिल्मका तीन जोडी फिचर्ड छन् । रेखा थापा र मुकुन भुषालले पानीमा नृत्य पस्किएका छन् भने पूजा शर्मा र समर्पण जंग कार्कीको केमेस्ट्री आकर्षक देखिन्छ । त्यसैगरी, बेनिशा हमाल र तेज गिरीको नृत्य पनि रोमाञ्चक छ । पूजा र बेनिशा बोल्ड अवतारमा प्रस्तुत छन् ।

बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा शंकर अधिकारी (घायल)को शब्द रचना तथा गायक गिरी स्वयंको संगीत छ । गीतको अडियो पक्ष बलियो छ । गायनमा तालमेल नमिलेको भान भए पनि संगीत पक्ष बुलन्द छ । र, शब्द सजिलै सम्झन सक्ने खालको छ । तिहारको माहोलमा गीतले राम्रै चर्चा पाउन सक्ने देखिन्छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘उपहार’मा शिशिर राणा, सुष्मा कार्की, अन्शु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा रेखाका श्रीमान् बलराम शाही ठकुरी छन् । निर्मातामा भने सुलभ प्रतिक र समीक्षा देउजा रहेका छन् । फिल्मका अन्य तीन गीतमा अर्जुन पोखरेलको संगीत छ ।

विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि. गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । गीत रिलिज कार्यक्रममा निर्देशक देउजाले ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेको बताए । फिल्ममा हाँस्यदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको उनको जिकिर छ ।