गत वर्ष अभिनेत्री पूजा शर्मा आफ्नै लगानीमा फिल्म ‘रावायण’ बनाउने तयारीमा थिइन् । निर्देशकमा सुदर्शन थापालाई लिएर उनले आफ्नो अपोजिटमा अभिनेता अनमोल केसीलाई भित्राएकी थिइन् । तर, पछि अनमोलले काम गर्ने मन देखाएनन् र १० लाख पेश्की रकम पनि फिर्ता गरे । त्यसअघि फिल्म ‘प्रेमगीत’मा पनि पूजाको जोडी अनमोलसँग बाँध्ने प्रयास भएको थियो । तर, संयोग जुरेन ।
यसैले पूजालाई ‘स्टार’सँग काम गर्न आफूलाई लेखेकै छैन भन्ने लाग्छ । शुक्रबार फिल्म ‘उपहार’को गीत रिलिज कार्यक्रममा उनले घुमाउरो रुपमा अनमोलप्रति व्यंग्य गर्दै भनिन्, ‘मलाई नयाँ हिरो मात्रै फाप्छ । मलाई स्टारसँग त लेखेकै पनि छैन । र, मलाई नयाँ हिरोसँगै काम गर्नुछ । नयाँ हिरोलाई ल्याउनु छ । नयाँ हिरो इन्डस्ट्रीमा चाहन्छ पनि । राम्रो-राम्रो हिरोहरु इन्डस्ट्रीमा आउनुहोला ।’
‘उपहार’मा उनले नव-अभिनेता समर्पण जंग कार्कीसँग स्क्रिन साझेदारी गरेकी छन् । त्यसो त उनले आफ्नो करिअरमा प्रायः नयाँ अभिनेतासँगै काम गरेकी छन् । ‘प्रेमगीत’ गर्दा प्रदीप खड्का पनि नयाँ नै थिए । पूजासँग फिल्म गर्नुअघि पल शाह र आकाश श्रेष्ठ पनि स्थापित भैसकेका थिएनन् । ‘सम्हालिन्छ कहिले मन’मा त सोनम तोप्देनलाई पूजाकै आग्रहमा डेब्यूको अवसर मिलेको थियो ।
हिरोइनबीच एकता भएर काम गर्नुपर्छ भन्ने रेखा थापाको भनाईले छोएपछि आफू उपहार’मा जोडिएको पनि उनले बताएकी छन् । यसरी काम गर्न आफू सधैं तयार रहेको उनको भनाई छ । ‘इन्डस्ट्री एक वा दुईजनाले धानिँदैन । टिम भएर हिँड्यो भने राम्रो हुन्छ । इन्डस्ट्रीमा एकताको आवश्यक छ । इन्डस्ट्रीका केही नराम्रो कुरा आउँदा मन दुख्छ । यो चिज नहोस् भन्ने लाग्छ,’ उनले भनिन् ।