नेपाली फिल्मबीच भिडन्त नौलो कुरा होइन । अक्सर चाडबाडको विदामा फिल्मबीच भिडन्त हुँदै आइराखेको छ । नेपाली बजार र हलले एकै मितिमा दुईवटासम्म फिल्म धान्न सक्ने अवस्था भए पनि कहिले काहीँ यो संख्या नाघ्ने गर्छ । जसले गर्दा दर्शक बाँडिन्छन् । हल बाँडिन्छ । र, निर्माताले घाटा बेहोर्नुपर्छ । अब आगामी फागुन २५ गते महाशिवरात्रीमा यो वर्षकै ठूलो भिडन्त हुने देखिन्छ ।
महाशिवरात्री र फागुन २८ गते ग्याल्पो ल्होछारको विदा छोप्न फागुन २५ मा फिल्म थुप्रिएका थुप्रै छन् । यो मिति चारवटा फिल्मले ‘बुक’ गरिसकेका छन् । नवल खड्का निर्देशित ‘काँडेतार’, अर्जुन सुवेदीद्वारा निर्देशित ‘रंगेली’, विश्वास तिमल्सिना र राज ऋषिले संयुक्त रुपमा निर्देशनमा बन्न लागेको ‘लोकल हिरो’ र ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘उपहार’ले फागुन २५ गते ताकेका हुन् ।
यसमध्ये ‘लोकल हिरो’ मात्र निर्माण हुन बाँकी छ । तिहारलगत्तै छायांकन गरेर शिवरात्रीमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहनेछ । फागुन २५ मै यी दुईको ‘रंगेली’ पनि प्रदर्शन हुन लागेकाले उनीहरुका दुई फिल्ममध्ये अन्तिम अवस्थामा सहमतिको सम्भावना देखिन्छ । अन्यथा एउटै मितिमा चार फिल्मको भिडन्त हुनेछ ।
फागुन २५ लाई स्टारडमको भिडन्तको रुपमा पनि अर्थ्याइएको छ । दयाहाङ र मिरुनाको जोडीले लगातार हिट फिल्म दिइरहेका छन् । जसले गर्दा ‘रंगेली’ र ‘लोकल हिरो’लाई कम आँक्न मिल्दैन । ‘उपहार’मा पनि रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल जस्ता कलाकार छन् । टिजर हेर्दा ‘काँडेतार’मा पनि सम्भावना देखिन्छ । अब यी चार फिल्मको भिडन्त टर्छ या पर्छ, त्यो हेर्न बाँकी छ ।