मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उपहार’ गीतमा ‘सफ्ट’ रेखा, समयले बदलेको कि चरित्रले ?

फिल्मीखबर, काठमाडौं, 2023/11/04

कुनै समय नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापाको ठूलो जगजगी थियो । तिहारमा देउसेले ‘ढुंगा छुँदा सुनै हओस्’ भनेर दिने आशिषजस्तै उनले जुन फिल्म छोए पनि ‘सुपरहिट’ हुने गर्दथे । पोस्टरमा उनको अनुहार राखेको भरमा मात्रै पनि फिल्म चल्ने युग थियो । रोमान्टिक होस् वा एक्सन, हरेक भूमिकामा उनी जमेकी थिइन् । यसैले त रेखालाई ‘नायक’को रुपमा परिभाषित गरिन्छ ।

उनी नेपाली फिल्ममा पहिरनमा नयाँ ट्रेन्ड सुरु गर्ने अभिनेत्री समेत हुन् । प्रायः अभिनेत्रीहरु साधारण पहिरनमा प्रस्तुत हुँदै आएको समयमा उनले छोटा पहिरनलाई बढवा दिइन् । जसले गर्दा उनको चर्चा पहिरनलाई लिएर समेत हुने गर्थ्यो । ‘ग्ल्यामर अभिनेत्री’को छवि बनाएकी उनी आफ्नो नयाँ फिल्म ‘उपहार’मा भने ‘सफ्ट’ देखिएकी छन् । शुक्रबार रिलिज भएको गीतले पनि त्यो देखाउँछ ।

राजनीतिमा सक्रिय भएपछि रेखाले निजी जीवन र फिल्ममा पनि पहिरनमा विशेष ध्यान दिन थालेको देखिन्छ । फिल्मको ‘वाह् वाह् वाह्’ गीत रिलिज कार्यक्रममा पत्रकारले रेखालाई प्रश्न गरे- ‘पहिरनमा बदलाव आउनुको कारण समयले हो कि फिल्मको चरित्रले ?’ जवाफमा उनले दुवै रहेको बताइन् । तर, ‘उपहार’को अर्को गीतमा आफूलाई पुरानै रेखा थापा देख्न पाइने पनि उनले खुलाइन् ।

 

rekha thapa


खासमा उनले फिल्मको गीतमा छोटो पहिरन नै लगाउन चाहेकी थिइन् । त्यसका लागि शरीर मेन्टेन गर्न जिम पनि धाएकी थिइन् । तर, गर्भवती भएपछि उनको त्यो सपना चकनाचुर भयो । यो गीतको छायांकन हुँदा उनी ५ महिनाकी गर्भवती थिइन् । त्यसपछि उनले लामो पहिरनमै गीतको सुटिङ गरिन् । चरित्र पनि त्यही अनुरुप भएकाले आफूले लामो पहिरन लगाएको उनको भनाई छ ।

उनी भन्छिन्, ‘पूजा शर्मा र मेरो ‘प्लान’ गीतमा एउटै ‘ड्रेस’ लगाउने भनेरै म जिम गइरहेकी थिएँ । तर, गर्भवती भएपछि छोटो ‘ड्रेस’ लगाउन अप्ठ्यारो पनि लाग्यो । क्यारेक्टरको हिसाबले पनि निर्देशकले छोटो पहिरन नलगाउँ भन्नुभयो । फेरि अर्को गीतमा मलाई पुरानै रेखा थापा देख्नुहुन्छ ।’ उनले लामो पहिरनमा पनि आफू राम्री नै देखिएको र आफूलाई रेखा थापा एकदमै मनपर्ने बताइन् ।

कुनै बेला ‘नायक’को रुपमा परिभाषित रेखालाई ‘उपहार’ले त्यो फेरि जन्माउन सक्छ भन्ने विश्वास पनि छ । ‘शतप्रतिशत ‘नायक’को परिभाषालाई जन्माउँछ । नायक एक समयका लागि हुँदैन, सदाबहार हुन्छ । पृथ्वी नारायण शाह अहिले नायक होइनन् त ? मेरो त इतिहास बनेकै छैन । म निरन्तर फिल्म क्षेत्रमै छु,’ उनले भनिन् । उनले फिल्मका हरेक पात्र ‘नायक’ रहेको समेत दाबी गरिन् ।