राजनीतिमा सक्रिय भएपछि अभिनयमा निस्क्रिय देखिएकी अभिनेत्री रेखा थापाले करिब ५ वर्षपछि फिल्म ‘उपहार’बाट पुनरागमन गरेकी छन् । फिल्ममा उनी स्वयंको मुख्य भूमिका रहेको छ भने उनका श्रीमान् बलराम शाही ठकुरी निर्मातामा छन् । ५ महिनाको गर्भवती रहँदा यो फिल्ममा एक्सनदेखि नृत्यसम्म गरेकी उनी ‘उपहार’लाई आफ्नो करिअरकै नयाँ जन्मको रुपमा ब्याख्या गर्छिन् ।
शुक्रबार फिल्मको गीत सार्वजनिक कार्यक्रममा उनले पत्रकारको प्रश्नमा भनेकी थिइन्, ‘उपहार’लाई मेरो करिअरकै नयाँ जन्म भन्न सक्छु । ‘रुद्रप्रिया र मालिका’मा जे त्रुटीहरु भयो मबाट, फिल्ममा जुन आत्मा हुनुपर्थ्यो दुवैमा त्यो थिएन । खाली मैले अभियानको रुपमा बनाएछु फिल्म भन्ने लाग्छ । मेरा अघिल्ला फिल्महरुमा आत्मा हुने गर्थ्यो ।’ ‘उपहार’ एकदमै राम्रो रहेको रेखाको दाबी छ ।
उनलाई यसअघि फिल्ममा सिनले छोएर आफैं रोएको सम्झना छैन । रुने सिनमा पनि ग्लिसिरिनको प्रयोग गरेको उनी सम्झन्छिन् । तर, ‘उपहार’मा रुन ग्लिसिरिन नचाहिएको उनी बताउँछिन् । ‘मलाई रुन आउँदैन । तर, यो फिल्ममा मलाई ग्लिसिरिन चाहिएन । नभए म रुन हल्का ग्लिसिरिन लगाउँथेँ । मजस्तो ‘हार्ड’ मान्छेलाई त सिनले छोयो भनेपछि छिट्टै रुने मान्छेलाई त धेरै छुन्छ होला ।’
उनले ‘उपहार’लाई आफ्नो करिअरको सुरुवातदेखि अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट फिल्मको रुपमा समेत दाबी गरेकी छन् । ५ महिनाको गर्भवती रहेको समयमा छायांकन गर्दा खासै गाह्रो नभए पनि ‘वाह् वाह् वाह्’ गीतमा नाच्ने बेलामा भने केही सर्तक भएको उनी सम्झन्छिन् । नेपाली समाजले गर्भ अवस्थालाई रोगजस्तो बनाइदिएको बताउँदै उनी यसलाई सेलिब्रेट गर्नुपर्ने सुझाव दिन्छिन् ।
‘मेरो दिमागमा पनि एकखालको त्रास चाहिँ थियो । किनकि, गर्भवस्थामा महिला निकै संवेदनशील हुनुपर्छ भनिन्छ । गर्भवस्थालाई रोग जस्तो बनाइएको छ । ‘बेड रेस्ट’ गर्नुपर्छ, हल्लिनु हुँदैन भन्ने सुनेकाले मलाई पनि डर चाहिँ थियो,’ उनले भनिन्, ‘यो फिल्मबाट म के सन्देश दिन चाहन्छु भने मैले गर्भावस्थामा पनि उत्सवको रुपमा काम गरेँ । गर्भावस्था रोग होइन, यसलाई ‘इन्जोय’ गर्नुपर्छ ।’