मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चलका फिल्म पुरुष केन्द्रित किन हुन्छन् ? के ‘दिमाग खराब’ मुक्त छ ?

फिल्मीखबर, काठमाडौं, 2023/11/06

‘सेलिब्रेटी निर्देशक’को रुपमा कहलिएका निश्चल बस्नेतले सन् २०१२ देखि सन् २०२३ सम्ममा जम्मा चारवटा फिल्म बनाएका छन् । ‘लुट’ उनको डेब्यू फिल्म थियो । ‘टकलजंग भर्सेस टुल्के’ दोस्रो, ‘लुट २’ तेस्रो र यही कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दिमाग खराब’ चौंथो । यसमध्ये उनका अघिल्ला तीन फिल्म महिलाभन्दा पुरुष पात्रलाई प्राथमिकतामा राखेर बनेका थिए ।

यसैले निश्चललाई पुरुषवादी फिल्म बनाउने गरेको आरोप लाग्ने गरेको छ । उनी आफैं पनि यो कुरा स्वीकार गर्छन् । पुरुष पात्रलाई प्राथमिकतामा राखेर स्क्रिप्ट लेख्दा यो समस्या आएको उनको बुझाई छ । तर, ‘दिमाग खराब’मा महिला-पुरुषको रुपमा भन्दा पनि हरेक चरित्रको कथालाई अगाडि बढाउनका लागि कति र किन महत्त्व छ भन्ने हिसाबले मात्र प्रस्तुत गरिएको उनले बताएका छन् ।

निश्चलले भनेका छन्, ‘मेरा अघिल्ला फिल्महरु पुरुष केन्द्रित मात्रै छ । म आफैं पुरुष भएकाले पनि पुरुष केन्द्रित फिल्म बनाएँ कि भन्ने लाग्छ । ‘दिमाग खराब’को स्क्रिप्ट लेख्ने समयमा चाहिँ हामीबीच फिल्ममा किन महिला पात्रहरु कमजोर हुन्छन् भनेर छलफल भएको थियो । महिला पात्रलाई जानाजान कमजोर बनाइएको हैन कि पुरुष पात्रलाई प्राथमिकता दिएर लेख्दा त्यस्तो भएको हो ।’

 

Nishchal basnet, Swastima Khadka


‘दिमाग खराब’मा हरेक क्यारेक्टरमा कथाको हिसाबले महत्त्व खोजेको उनको तर्क छ । ‘यसमा हामीले हरेक क्यारेक्टरमा कथाको हिसाबले त्यसको महत्त्व खोजेका छौं । पटकथा अगाडि बढ्न हरेक पात्र किन जरुरी छ भन्ने उत्तर दिन सक्यौं भने त्यो पात्रले गर्ने कुराको महत्त्व हुन्छ । यसपटक हामीले त्यही प्रयास गरेका छौं । यसमा हरेक पात्र कथाको महत्त्वको आधारमा छन्,’ उनले भने ।

फिल्मको ट्रेलर हेर्दा अभिनेत्री स्वस्तिमा खड्काको पात्रले श्रीमान् (खगेन्द्र लामिछाने)लाई विदेश पठाउन दबाब दिएको प्रष्टै बुझिन्छ । यसै पनि नेपाली समाजमा पुरुषलाई कमजोर बनाउन महिलाको हात हुन्छ भन्ने भाष्य निर्माण छ । स्वस्तिमा भने ट्रेलरको भरमा क्यारेक्टरलाई मुल्यांकन गर्न नहुने बताउँछिन् । श्रीमानलाई विदेश पठाउन कर गर्नुको कारण फिल्ममा नै रहेको उनको दाबी छ ।

उनी भन्छिन्, ‘फिल्ममा कुनै पनि क्यारेक्टरले त्यो किन भनिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । तर, फिल्ममा पुरुषलाई कमजोर बनाउन महिलाकै भूमिका हुन्छ भनेर देखाइनु हुन्न । ‘दिमाग खराब’मा मेरो चरित्रले श्रीमानलाई विदेश जान कर गरिरहेको ट्रेलरमा देखिन्छ । उसले किन कर गर्‍यो भन्ने कारण फिल्ममा छ ।’ उनलाई पनि निश्चलका अघिल्ला फिल्म पुरुष केन्द्रित थिए भन्ने लाग्छ ।

उनले निश्चललाई महिला पात्रलाई प्राथमिकता दिन धेरैपटक सुझाव पनि दिएकी छन् । ‘उहाँका अघिल्ला फिल्ममा महिला पात्रलाई त्यस्तो महत्त्व दिइएको छैन । मैले उहाँलाई धेरैपटक तपाईंका फिल्ममा महिला पात्र प्राथमिकतामा हुँदैनन् भनेको छु । महिला पात्र उहाँको फिल्ममा दोस्रो या तेस्रो ‘लियर’मा हुने गर्थे । उहाँ सेलिब्रेटी निर्देशक हो, यसमा उहाँले ध्यान दिनुपर्छ,’ उनले भनेकी छन् ।